नेपाली कांग्रेसले चितवनका सातै वटा नगर/गाउँपालिकाको नेतृत्व चयन गरेको छ।
शनिबार र आइतबार जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाको नेतृत्व चयन भएको हो।
सातै पालिकामा निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ। ती निर्वाचनमा भरतपुरबाहेक सबै पालिकामा दुईवटा प्यानलहरु प्रतिष्पर्धामा उत्रिएका थिए।
भरतपुर महानगरमा भने अध्यक्षका उम्मेदवार पाँच जना खडा भएका थिए। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चलिएको अधिवेशनमा देशभर वडादेखिनै केन्द्रीय गुट हावी हुँदै आएको देखिन्छ।
चितवनमा वडा तहको नेतृत्व चयनमा पनि केन्द्रको शेरबहादुर देउवा र रामचन्द्र पौडेल गुटको प्रभाव देखिएको थियो। तर नगर अधिवेशनमा भने केन्द्रको भन्दा जिल्ला गुटको प्रभाव बढी देखियो।
चितवनमा नगर/गाउँ निर्वाचनमा जिल्लाको संस्थापन समर्थित समूह र संस्थापन इतरको समूहको प्यानलका बीचमा कडा प्रतिष्पर्धा भएको थियो।
चितवन कांग्रेसमा अहिले जितनारायण श्रेष्ठ सभापति छन्। आगामि जिल्ला अधिवेशनमा आफू निकटका उम्मेद्वारलाई जिताउन उनी निकटको संस्थापन समूह लागेको छ।
संस्थापन इतरको समूहले जिल्ला अधिवेशनलाई मध्यनगर गर्दै महाधिवेशन सुरु हुनुभन्दा अघि देखि नै गृहकार्य गर्दै आएको थियो। संस्थापन समूहले ३ र इतर समूहले ४ नगर/गाउँ पालिकाको नेतृत्व पाएको छ। अन्य उम्मेद्वारलाई पराजित गर्दै चित्रसेन अधिकारी भरतपुर महानगरको सभापति बनेका छन्।
उनी महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्ष हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर सभापति भरत अधिकारी थिए।
भरतपुरमा देउवा समूहको उम्मेदवार भन्दै हिरामणी अधिकारीको प्यानल खडा भएको थियो। त्यस्तै देउवा निकटको भन्दै युवा नेता बचन कार्की पनि मैदानमा थिए। त्यसैगरी अर्जुन रिजाल पनि महानगरको सभापति पदका उम्मेदवार थिए।
विजयी भएका चित्रसेन अधिकारी जिल्लाका पूर्व सभापति टेकप्रसाद गुरुङ, जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेको राजेश्वर खनालका निकट मानिन्छन्। गुरुङ पनि आगामि निर्वाचनमा जिल्ला सभापतिको उम्मेदवार बन्ने चर्चा छ।
खनालले आफूले मतदान गरेका उम्मेद्वारले महानगरमा चुनाव जितेको बताए। त्यस्तै रत्ननगर, राप्ती, खैरहनी नगरपालिकामा भएको निर्वाचनमा विजयी भएका नेताहरु पनि संस्थापन इतरका मानिन्छन्।
रत्ननगरबाट सभापतिमा प्रल्हाद सापकोटा निर्वाचित भए। निवर्तमान सभापति रुपनराज घिमिरेलाई उनले पराजित गरेका थिए। राप्तीमा देवेन्द्र लामा र खैरहनीमा गुणराज श्रेष्ठ निर्वाचित भए।
‘उहाँहरुलाई मैले सहयोगका लागि आग्रह गर्दै आएको छु, आफूले पनि सहयोग गरें, मलाई सहयोगको बचन दिनुभएको पनि छ,’ खनालले भने।
कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्वमा भने जिल्ला कांग्रेसको संस्थापन निकटका विजयी भएका छन्।
कालिकामा दिपेश्वर केसी, माडीमा कमल भुषाल र इच्छाकामनामा कृतिकुमार श्रेष्ठ सभापतिमा निर्वाचित भए। जिल्ला सभापति श्रेष्ठनिकट मानिने जिल्ला समितिका उपसभापति कैलाश कोइराला अबको जिल्ला सभापतिको दौडमा छन्।
जिल्ला सभापति जितनारायण श्रेष्ठले जिल्लाको चुनावमा केन्द्रीय राजनीतिको प्रभाव नदेखिएको बताए।
‘वडादेखि नगरसम्मका आन्तरिक चुनाव सौहार्दपूर्ण ढंगबाट सकिएका छन्। तल्लो तहमा जिल्ला सभापतिका आकांक्षीहरुको प्रभाव पर्नु स्वभाविक हो, बाहिर कुरा आएजस्तो जिल्लाको संस्थापन र इतर भन्ने नरहेपनि आकांक्षीहरुले आफू अनुकूल प्यानल बनाएको चाहिँ देखिन्छ,’ उनले भने।
चितवनमा कांग्रेसको गाउँ/नगर अधिवेसनबाट ४९ जना पदाधिकारीसहित ५ सय ३९ जना नेतृत्वमा आएका छन्। यसअघि वडाअधिवेशनबाट ९८ जना वडासभापति र २ हजार ८ सय १५ जना क्षेत्रीय प्रतिनिधिहरू चयन भएका थिए।