नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशन मंसिरमा सकेर आमचुनावमा जानुपर्ने बताएका छन्।
संसद प्रभावकारी ढंगले चल्न नसकेको उल्लेख गर्दै सिंहले महाधिवेशनपछि चुनावमा जानुपर्ने बताएका हुन्।
‘संसदीय मूल्यमान्यता अनुरूप संसदले काम गर्न नपाएपछि फ्रेस इलेक्सनमा जानुपर्छ,’ काठमाडौं महानगर वडा नम्बर २२ मा आज आयोजित कार्यक्रममा उनले भने।
साथै उनले मंसिरमा हुने महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेको पनि बताए। आफू सभापति उठ्ने भनेपछि विरोधीहरूले अनेक आरोप लगाउन सुरू गरेको उनको दाबी थियो।
आफूले विरासतको राजनीति नगरेको सिंह बताउँछन्। सामान्य कार्यकर्ताझैँ आफूले पार्टीमा काम गर्दै आएको उनको भनाइ थियो। आफू 'राजकुमार' नभएको पनि उनले बताए।
कतिपयले सिंहलाई गणेशमान सिंहको छोरा भएकैले 'राजकुमार' भनेर आलोचना गर्छन्। आफूविरूद्ध लाग्नेहरूले यस्तो भन्ने गरेकोमा सिंहले कटाक्ष गरेका छन्।