संविधानको आफू अनुकूल व्याख्या गर्दै प्रदेश १ सरकारले आयु लम्ब्याउन खोजेको र त्यसमा सभामुख प्रदीप भण्डारी सहयोगी बनेको विपक्षी आशंकालाई सही सावित गर्दै सभामुखले संसद् बैठक दसैंपछिलाई सारेका छन्।
आइतबारको संसद् बैठकमा सोमबार एक बजेका लागि सभामुख आफैँले प्रदेशसभाको बैठक हुने निर्णय सुनाएका थिए।
सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान उल्लंघन गरेको र सभामुख त्यसमा सहयोगी भएको विपक्षी आरोप थियो। संसदमा आइतबार सभामुखको तीव्र आलोचना पनि भएको थियो।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार साँझ सूचना जारी गर्दै भोलिका लागि आह्वान गरिएको बैठक कात्तिक ५ गते शुक्रबारका लागि मिति परिवर्तन गरिएको सूचना निकालेका छन्।
यसरी मिति फेर्नुको कारणमा ‘विशेष कारण’ उल्लेख गरिएको छ। सरकारले विश्वासको मत चाहिएको सूचना आज पनि संसदमा नपठाएको संसद् सचिव गोपाल पराजुलीले जानकारी दिए।