लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले नेता डाक्टर र डाक्टर नेता बन्न खोज्दा अस्पतालको सेवा सोचेजस्तो राम्रो बन्न नसकेको बताएका छन्।
सोमबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल निरीक्षण गर्न आएका मन्त्री थारूले अस्पतालमा सम्बोधन गर्दै भने, 'नेताहरूले डाक्टर बनेर डाक्टरलाई तर्साउँदै र कुट्दै हिँड्ने र डाक्टर नेता बनेर भाषण गर्ने तथा सडकमा विरोध-प्रदर्शनमा उत्रने जस्ता कार्यले सरकारी अस्पतालको सेवा प्रभावकारी बन्न सकेन।'
उनले जसको जुन क्षेत्रमा दक्षता हो, त्यसले त्यही काम गर्दा बढी प्रभावकारी हुने समेत बताए। त्यस्तै अस्पताल विकास समितिले अस्पताल विकास र समन्वयमा ध्यान दिनुपर्ने र डाक्टरले बिरामीको सेवा भन्दा अरू कुरामा ध्यान दिन नहुने पनि उनले बताए।
मन्त्री थारूले अस्पतालको सेवा थप प्रभावकारी बनाउन र सकभर बिरामी बाहिर रिफर गर्नुपर्ने परिस्थिति अन्त्य गर्ने गरी कार्य गर्न आग्रह गरेका थिए। त्यसका लागि कुनै कुराको अभाव वा कमी-कमजोरी भए आफूलाई भन्न पनि आग्रह गरे।
केही समय पहिले मात्रै राप्ती प्रादेशिक अस्पतालका मेसुमाथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै कालोमोसो दलेपछि सेवा नै बन्द गरेर दोषीलाई कारबाहीको माग गर्दै डाक्टर-नर्सहरू सडक आन्दोलनमा उत्रिएका थिए।
राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टरको रूपमा मात्रै परिचित भएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ। प्रायः बिरामी यहाँबाट बाँके रिफर हुने गरेका छन्। बिरामी बाँकेसम्म पुर्याउन एम्बुलेन्सलाई दुई-तीन घन्टा समय लाग्ने हुँदा बिरामीको जटिलता बढ्ने वा बाटोमै मृत्यु हुने अवस्था पनि छ। यस्तोमा विशेषगरी दुर्घटनाका घाइतेहरूले अत्यधिक रक्तश्रावका कारण ज्यान गुमाउँछन्।
अस्पताल विकास समिति र अस्पतालका मेसुले भने दरबन्दीअनुसार विशषेज्ञ डाक्टर उपलब्ध नहुनु, आवश्यक पूर्वाधार तथा उपकरण नहुनु, सुरक्षाको उचित प्रबन्ध नहुनु जस्ता कारणले तुलसीपुरमा बाहिरका डाक्टर आउन नमान्ने गरेको गुनासो गर्दै आएका छन्।