नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाउनेहरू समाप्त हुने दाबी गरेका छन्।
तत्कालीन एमाले नेता हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्ष्य गर्दै उनले आफ्नै पार्टीको सरकार हटाएर विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेहरू समाप्त हुने बताएका हुन्।
‘अवसरवादको खेती गर्ने शक्तिहरू आफ्नो पार्टीको सरकार अपदस्त गर्ने, विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने, त्यसका लागि अदालतमा मुद्दा हालेर राजनीतिक रूपमा अक्षम्य अपराध गर्नेहरू छन्, यिनीहरूको कुनै भलो हुनेवाला छैन, तिनीहरू समाप्त हुनेछन्,’ पोखरेलले भने।
महासचिव पोखरेलले अहिलेको पाँच दलीय सत्ता गठबन्धन समाप्त भएर जाने पनि दाबी गरेका छन्। सबै शक्ति एक ठाउँमा उभिएर एमालेविरूद्ध लागेको भन्दै उनले उक्त दाबी गरेका हुन्।
‘यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन,’ उनले भने, ‘चकनाचुर हुनेवाला छ।’
महासचिव पोखरेलले सत्ता गठबन्धन मुलुकको आर्थिक विकास रोक्न, राजनीतिक स्थायित्व धराशायी बनाउन, राष्ट्रिय स्वाधीनता र स्वाभिमान कमजोर बनाउन, सामाजिक सद्भाव खलबलाउन र विदेशीका सामु घुडा टेक्न लागेको आरोपसमेत लगाए। यसविरूद्ध एमाले उभिने उनको भनाइ छ।
नेकपा एमाले कास्कीले दशैंका अवसरमा बुधबार पोखरामा आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन्। सोही कार्यक्रममा बोल्दै एमाले सचिव पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भण्डाफोर गर्न आह्वान गरे।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले माओवादी र जसपा दलाल पुँजीपति वर्गको मतियार बनेको आरोप लगाए।
‘दलाल पुँजीपति वर्गको मतियार बनेकाहरू कसरी कम्युनिष्ट पार्टी हुन सक्छ? कसरी समाजवादी पार्टी हुन सक्छ,’ उनले भने, ‘माओवादी केन्द्र र समाजवादी पार्टीले जसरी समाजवाद र कम्युनिष्ट आदर्शको विरूद्ध काम गरिरहेको छ, त्यसको डटेर भण्डाफोर गर्नुपर्छ।’