सरकारले बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रूपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
आज बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अस्थायी आवास बनाउन आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीपहिरो र डुबानले घरबिहीन भएकाहरूलाई तत्कालका लागि ५० हजारका दरले राहत दिन लागिएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विपद व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी काम गर्न अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएका थिए।
बाढीपहिरोबाट विस्थापितहरू अहिले सार्वजनिक स्थान, स्कुलमा बस्दै आएका छन्।
आपूर्ति मन्त्रालयमार्फत् उनीहरूलाई खानेकुराको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ।
अस्थायी सेल्टर निर्माणका लागि तत्काल रु ५० हजार दिने विगतको कार्यविधिअनुसार काम अघि बढाइएको पनि गृह मन्त्रालय स्रोतले जनाएको छ।
गत शनिबारदेखि परेको पानीले देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ।
सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूका परिवारलाई आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको छ।