प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
संसदमा आजै मत विभाजन गर्ने तयारी छ।
सभामुख प्रदीपकुमार भण्डारीले शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गरेका थिए।
नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएलगतै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ५९ दिनपछि विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल एमालेको विभाजनले केन्द्रमा मान्यता पाएको भोलिपल्ट मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश १ मा एमालेले बहुमत गुमाइसकेको थियो।
प्रदेश सभामा दल विभाजनको औपचारिक जानकारी भदौ २५ गते प्राप्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि उनले त्यस अवधिमा प्रस्ताव मात्र दर्ता गरेर १२ दिनपछि विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभामा विद्यमान शक्ति सन्तुलनमा नाटकीय परिवर्तन नआएमा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने आधार देखिएको छैन।
९३ सदस्यीय प्रदेश सभामा हाल ९२ जना सांसदहरु कायम छन्।
सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ सांसद छन् भने अहिलेसम्म मुख्यमन्त्रीलाई अन्य दलले समर्थन गरेको औपचारिक निर्णय गरेका छैनन्।
सरकारको विपक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, र लोकतान्त्रिक लिम्बुवान राष्ट्रिय मञ्च आवद्ध भएका छन्।
प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाको ३ र मञ्चको एकजना गरी ५० सांसद छन्। राप्रपा नेपालको एक जना सांसदभने अहिलेसम्म कुनैपनि पक्षमा खुलेकी छैनन्।
प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आह्वान गर्नेछन्।
प्रदेश प्रमुखले आह्वान गरेलगतै नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्नका लागि दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ।