नेपाल कम्युनिष्ट पार्टी (एमाले) भातृ संगठन युवा संघले साइबर सर्कल बनाउने भएको छ।
एमाले केन्द्रीय सदस्य महेश बस्नेतले विगतमा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध घेराबन्दी गर्दा साइबर सेना बनाउने घोषणा गरिएको र त्यसलाई परिमार्जन गरेर साइबर सर्कल बनाउन लागिएको बताए।
'सेनाभन्दा अलिकति द्वन्द्व बढाउने नाम भयो भन्ने सुझाव आएपछि युवा संघले साइबर सर्कललाई युवा संघ मातहतको विभाग बनाउन लागेको हो', बस्नेतले भने, 'यसले पार्टीको प्रचार-प्रसार गर्ने र भ्रम चिर्ने काम गर्छ।'
सर्कलको नेतृत्व युवा संघका अध्यक्ष अशोक चौलागाईंले गर्ने बस्नेतले जानकरी दिए।
'यसले इन्स्टाग्रामदेखि ट्विटर/फेसबुक र टिकटकसम्म प्रचारको काम गर्छ', बस्नेतले भने, 'सूचना प्रविधिमा काम गर्ने व्यवस्थित टिम बनाउँछौँ।'
युवा संघले ओली सरकारले गरेको कामबारे जानकारी दिन तस्बिर पुस्तकसमेत सार्वजनिक गर्ने भएको छ।