नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा समूहका सुशील गुरूङको प्यानल विजयी भएको छ।
सभापतिमा गुरूङले ३ सय ७७ मत ल्याएर विजयी भएका हुन्। रामचन्द्र पौडेल समूहका मातृका प्रसाद यादवले भने २ सय ४२ मत प्राप्त गरे।
यस्तै सभापति पदका अर्का उम्मेदवार महेन्द्र प्रसाद यादवले ४ मत प्राप्त गरे। सचिवमा पनि गुरूङ प्यानलकै भवानी प्रसाद शर्मा र लेखनाथ भट्टराई विजयी भएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
सहसचिवमा पनि गुरूङ प्यानलकै कुल प्रसाद न्यौपाने र प्रेम सागर थारू विजयी भए।
क्षेत्रीय सदस्य एवं केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि गुरूङ समूहकै एकल वर्चश्व छ।