सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्।
अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिए।
राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारदेखि काठमाडौंमा सुरू भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए।
अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराए।
उनले भने, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाई राख्नोस्। तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो। त्यो भावनालाई ठिक ढंगले आत्मसात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढ्नोस्। परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं। प्रतिगमनतर्फ कोही नलागौं।’
अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरू अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।