जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश कमिटी (प्रदेश २) को अध्यक्षमा प्रतिनिधि सभा सदस्य रामबाबु यादव चयन भएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका अध्यक्ष विजय कुमार यादवको कार्यकाल सकिएपछि सर्वसम्मतिले उनलाई अध्यक्ष चयन गरिएको हो।
उनी बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद हुन्।
आज जनकपुरस्थित पार्टी कार्यालयमा तत्कालीन मधेस प्रदेश कमिटीका अध्यक्ष एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादवले पत्रकार सम्मेलन गरेर मधेस प्रदेश कमिटीका अध्यक्षसहितका पदाधिकारी घोषणा गरेका हुन्।
त्यसैगरी पार्टीको विधान अनुसार प्रदेश कमिटीको पाँच उपाध्यक्ष, एक जना मुख्यसचिव, चार जना सचिव र एक जना कोषाध्यक्ष पनि सर्वसम्मतिले चयन गरिएको छ।
उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको हो।
दिनेश कुमार यादवलाई मुख्यसचिवको जिम्मेवारी दिइएको छ भने असुफ अलि, निरा साह र शैलेश कुमार साहलाई सचिव बनाइएको छ।
रेणु यादव कोषाध्यक्षमा दोहोरिएकी छन्।
केहीदिन अगाडि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा बसेको जसपाको बैठकले मधेस कमिटीको पदाधिकारी घोषणा गर्ने जिम्मेवारी तत्कालीन अध्यक्ष एवं मन्त्री विजय यादवलाई दिइएको थियो। सदस्यहरू भने पछि घोषणा गर्ने बताइएको छ।