अर्थमन्त्री जनार्दन शर्माले माओवादी अब गर्जिनुपर्ने बताएका छन्। उनले जनयुद्धकालमा विकास गरेको प्रचण्डपथ विचारधारा पुनः ब्युँताउनु पर्ने बताएका छन्।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगर समितिको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘प्रचण्डपथ छोडेर हामीले गल्ती गर्यौं, केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेर गल्ती गर्यो, त्यसले हामीलाई क्षति भयो।’
उनले थपे, ‘त्यस विचारलाई माथि उठाउनुको सट्टा छोड्यौं, अब त्यसलाई सच्याउनु पर्छ।’
उनले सामन्ती राजतन्त्रलाई पराजित गरेर, वर्गीय मुक्ति र असमानताविरूद्ध आन्दोलन गरेर आएको पार्टीले संविधान जारी गर्दै पछिल्लो समय प्रतिगमनलाई पनि पराजित गरेको बताए।
‘गणतन्त्रको लागि लडेको, शान्ति प्रक्रियाको नेतृत्व गरेको, संविधान निर्माण गरेको र पछिल्लो पटक प्रतिगमनलाई पछारेको पार्टी र त्यसको नेतृत्व प्रचण्ड हामीसँग हुनुहुन्छ,’ उनले भने, ‘अब माओवादी झोक्राएर होइन, गर्जिएर अगाडि बढ्नु पर्छ।’
अहिले ८ लाख पार्टी सदस्य बनेको उल्लेख गर्दै शर्माले ८ लाखको हाराहारीमा साधारण सदस्य र १६ लाखको संख्यामा जनवर्गीय संगठनको सदस्य बनाएर ३२ लाख समर्थक संख्या पुर्याउनु पर्नेमा उनको जोड थियो।
माओवादी महानगरको अधिवेशनले ९९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितको कमिटीमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व हुने व्यवस्था रहेको पार्टीले जनाएको छ।