बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत आचार्यले नेपालका प्रधानमन्त्रीहरूले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरे पनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन्।
दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रूपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो।
प्रस्तावित राजदूत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए।
उनले भने, ‘अहिलेसम्म दुइटा कुरा हुन सकेको छैन। बेलायतबाट प्रधानमन्त्रीको भिजिट अहिलेसम्म भएको छैन। बेलायतबाट परराष्ट्रमन्त्रीको भिजिट पनि अहिलेसम्म भएको छैन। यहाँबाट चाहिँ प्रशस्त भ्रमण भएको तर उताबाट राष्ट्राध्यक्ष तहमा भएको तर सरकार प्रमुखको हैसियतले नभएको हुनाले मलाई लाग्छ-त्यसका निम्ति वातावरण तयार गर्ने र त्यसका किसिमका भ्रमण आगामी दिनमा गर्नका लागि अत्यन्त महत्वपूर्ण भूमिकमा खेल्नुपर्ने हुन्छ, राजदूत र दूतावासले।’
त्यसैगरी भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले नेपाल र भारतबीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए।
उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताए।
आपसी विश्वास कायम गर्न सकेमा धेरै काम गर्न सकिने प्रस्तावित राजदूत शर्माले बताए।
नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रूपमा अगाडि लिएर जानुपर्ने आवश्यकता पनि उनले औंल्याए।
प्रस्तावित राजदूत शर्माले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ। सबभन्दा ठूलो विश्वास हो। विश्वासलाई विकास गर्न सके धेरै काम सजिलैसँग अगाडि जानसक्छ। विश्वासको वातावरण बढाउँदै जाने, अगाडि लिएर जाने कुरा हुन्छ। हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुरालाई रणनीतिक रूपमा लिएर जानसक्ने सम्भावना रहन्छ। भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालीन, दीर्घकालीन रूपमा गर्नुपर्ने कुरा र आधारका कुरा कसरी अगाडि लिएर जानसक्छौं भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु।’
उनले भारतमा प्राप्त अवसरलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडि बढ्ने बताए।
बैठकमा सांसदले आर्थिक कूटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदूतलाई सुझाव दिएका थिए।