प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी- व्यवसायीहरूलाई आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन्।
उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए।
प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री देउवाले भने,‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ। त्यसमा युएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद। अघि एकजना मित्रले भन्नुभयो, तीन-तीन महिनामा भने पनि भेटघाट हुनुपर्छ सरकार र प्राइभेट क्षेत्रहरूसँग। व्यापार, उद्योग सबै क्षेत्रहरूसँग, त्यो अत्यन्त राम्रो कुरा हो। हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दाहरू जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ।’
मल कारखाना खोल्नमा सहयोग गर्न सरकार तयार रहेको समेत उनले बताए।
‘कतिपय सरकारलाई प्रायोरेटिजहरू हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस्। यस्ता कति कुराहरूमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईंहरूलाई त्यो सहयोग दिन हामी तयार छौं,’ उनले भने।
प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए।
‘अहिले कोरोना भाइरसले पनि हैरान गरेको छ देशलाई। अत्यन्त डरलाग्दो स्थिति छ। नयाँ-नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरू। मैले भनेकै हो, खोप खोप खोप भनें। खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ’, उनले भने, ‘अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरूलाई। हामी अब जसरी भए पनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ। यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ।’
उनले कोरोनाविरूद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे।