राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा १८९ जना मतदाताले मतदान गरेका छन्। आज भएको निर्वाचनमा कुल १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका हुन्।
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार प्रदेश सभा र स्थानीय तहका एक/एक जना पदाधिकारीले मतदान गरेका छैनन्।
कर्णाली प्रदेशको मतगणना अहिले जारी छ। अबको केही समयमा नतिजा आइसक्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी शाखा अधिकृत निर्मला रेग्मीले बताइन्।
‘दुई जना अनुपस्थित हुनुभयो, सर्वदलीय बैठक बसेर पनि मतगणना सुरू भइसकेको छ,’ उनले भनिन्।
कर्णाली प्रदेशको मतदानमा सहभागी नहुनेमा तिलागुफा नगरपलिकाका उपमेयर दन्ता नेपाली र राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सोशिला शाही रहेका छन्।
उपमेयर नेपाली केही वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन्। नगरपालिका महासंघबाट प्रतिनिधित्व गरी कार्यक्रममा सहभागी हुन अमेरिका गएकी उनी त्यसपछि फर्किएकी छैनन्।
राप्रपाको केन्द्रीय कमिटीको सर्कुलरअनुसार आफू मतदानमा सहभागी नभएको सांसद् शाहीले बताइन्।
‘हाम्रो उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुन सर्कुलर भएको थियो, त्यसैले यहाँ पनि म तटस्थ बसेको हो,’ उनले भनिन्।
कर्णाली प्रदेशमा तीन जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको हो।
नेकपा एमालेले महिलातर्फ जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले एकलौटी उम्मेदवारी दिए पनि सत्ता गठबन्धन दलहरूले भागबण्डा अनुसार उम्मेदवारी दिएका थिए।
सत्ता गठबन्धनबाट कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार छन्।
महिलातर्फ कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरुङ, अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहरा उम्मेदवार छन्।
सत्ता गठबन्धनका उम्मेदवारमध्ये विष्ट यसअघिका संविधान सभा सदस्य हुन्।