राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट नेपाली कांग्रेसका उम्मेदवार कमला पन्त निर्वाचित भएकी छिन्।
उनले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्धन्द्धी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी थिइन् ।
निर्वाचन कार्यालयका अनुसार बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार छन् भने एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवार छन्।
निर्वाचन कर्यालय कास्कीका अनुसार गण्डकीमा २२७ जना जनप्रतिनिधीले मतदान गरेका थिए। गण्डकी प्रदेश सभाका ५९ जना सांसद, गण्डकीका ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही गरेपछि उनको स्थान रिक्त छ । यस्तै, प्रदेशभर स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जना रहेकोमा २ जना मतदानमा सहभागी भएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिका उपप्रमुख निर्वाचित सुरेन्द्र खड्का र मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख लोप्साङछोम्पेल विष्ट मतदानमा सहभागी भएनन्।
राप्रपाका खड्का पार्टी केन्द्रका निर्देशन अनुसार मतदानमा भाग लिएनन् भने मुस्ताङका विष्ट अमेरिकामा रहेकाले मतदानमा सहभागी नभएको जनाएको छ ।
पार्टी केन्द्रका निर्देशन विपरित राप्रपाबाट निर्वाचित बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल भने मतदानमा सहभागी भए। राप्रपाले प्रदेश १ बाहेक अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो।
गण्डकीमा ५ दलीय गठबन्धनको ३ हजार २५२ मतभार छ भने प्रतिपक्षी एमालेको कुल मतभार २ हजार ५५६ छ।