कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।
शुक्रबार बसेको सिसिएमसीको बैठकले ट्याक्सीबाहेक सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस भएको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन्।
निजी सवारी साधनको हकमा भने जोर-बिजोर प्रणाली लागु नै गर्न सिफारिस भएको उनले बताइन्।
यस्तै, यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।
शैक्षिक संस्थाहरू पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको प्रवक्ता नेपालले बताइन्।
‘हामीले शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेका छौं,’ उनले भनिन्।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि विश्वविद्यालयहरूले पनि सञ्चालनमा रहेको परीक्षाहरू स्थगित गरेको थियो।
त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न सिफारिस भएको उनले बताइन्।