हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं मुख्य प्रशासकका रूपमा जोन ली चुनिएका छन्। चीनसँग राम्रो सम्बन्ध भएको मानिने जोन ली आइतबार भएको निर्वाचनबाट मुख्य प्रशासक छानिएका हुन्।
बिबिसीका अनुसार चीनका समर्थकका रूपमा चिनिएका ६४ वर्षीय जोन लीमार्फत् चीनलाई हङकङमा आफ्नो पकड कसिलो राख्न सहज हुने देखिएको छ।
सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच हङकङको प्रमुख प्रशासकमा झन् कट्टर रूपमा चीनको समर्थक रहेका जोन लीको आगमन भएको टिप्पणी गरिएको छ।
हङकङको मुख्य प्रशासक चुन्न झन्डै १५०० सदस्यको निर्वाचन समिति छ। मुख्य प्रशासक छान्न उनीहरूले मतदान गर्छन्। उनीहरूमध्ये सबैजसो चिनियाँ प्रशासन निकट भएका बताइएको छ। त्यसमाथि यसपालि हङकङका पूर्व मुख्य सचिव जोन ली मुख्य प्रशासकका एक्ला उम्मेवार थिए।
छैटौं मुख्य प्रशासक अर्थात् जोन लीको कार्यावधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ।
जोन लीअघि हङकङका मुख्य प्रशासक केरी ल्याम थिइन्। केरी ल्याम सन् २०१७ देखि यो जिम्मेवारीमा थिइन्।
ल्यामले हङकङको मुख्य नेताका रूपमा दोस्रो कार्यकाल नसम्हाल्ने घोषणा गरेकी थिइन्। त्यसैले पनि जोन लीलाई पहिल्यैदेखि ल्यामपछिको मुख्य प्रशासकका रूपमा हेरिएको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९, १२:०१:००