नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेनु दाहालको जित सहज भएको बताएका छन्।
जगन्नाथले माओवादीमा नआउने कांग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेनुलाई सजिलो भएको उनको ठम्याइ छ।
‘मतगणनामा देखिएको भोटिङ प्याट्रन हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए कांग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले शनिबार आफ्नै निवास खुमलटारमा सञ्चारर्कीसँग भने, ‘उहाँको उम्मेदवारीले हामीलाई नोक्सान भएन। बरू सजिलो भयो।’
यद्यपि बाहिर चर्चा चलाइएजस्तो गठबन्धनको योजनामा पौडेल उम्मेदवार नभएको उनले स्पष्ट पारे।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उम्मेदवारीबाट पछि हट्न पटक/पटक गरेको आग्रह पौडेलले अस्वीकार गरेको पुनले उल्लेख गरे।
मतगणनाका क्रममा भुइँकटहर चिन्हबाट स्वतन्त्रमा चुनाव लडेका पौडेलले समग्रमा १० प्रतिशत र कांग्रेसको संगठित मत ३० प्रतिशत ल्याएको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए।
अधिकारीले पनि पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेनुको जित कठिन हुन सक्ने स्वीकार गरे।
भरतपुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभाबाटै प्रधानमन्त्री देउवा र आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई गरेको आग्रह उनले अस्वीकार गरेको पुनको भनाइ थियो।
पुनले भरतपुरमा एमालेकै मतदाताको आकर्षण पनि माओवादीप्रति देखिएको बताए।
भरतपुर महानगरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो।
रेनु गठबन्धनका तर्फबाट मेयर पदकी साझा उम्मेदवार हुन्। राप्रपासँग गठबन्धन गरेको एमालेले बागमती प्रदेशका प्रदेश सभा सदस्य विजय सुवेदीलाई राजीनामा गराएर मेयरमा उम्मेदवार बनाएको थियो।