नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिर्जना गरेका विकृतिका कारण केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले स्थानीय चुनाव जितेको बताएका छन्।
राजनीतिक दलका उम्मेदवार पराजित भई स्वतन्त्रहरू जित्नु ओली नेतृत्वको यसअघिको सरकारले चालेका कदमका असन्तुष्टि भएको उनको दाबी थियो।
‘एमालेका अध्यक्ष ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेससमेत परेको छ। केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा कांग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्ने मूल्यांकन गर्न मिल्दैन,’ आज पत्रकार सम्मेलन गर्दै उनले भने।
काठमाडौं महानगरमा किन युवाहरू पार्टीप्रति सन्तुष्ट भएनन् भन्नेबारे अध्ययन गरिने उनले बताए। ‘काठमाडौं महानगरमा जे देखियो, त्यसलाई हामी हेर्नेछौँ। युवाहरु किन असन्तोष छन् ती कुरामा नेपाली कांग्रेसले सोच्नेछ,’ उनले भने।
उनले स्थानीय चुनावमा सत्ता गठबन्धन सफल भएको पनि बताए। उनले तालमेल गरेर प्रतिष्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरुले सफलता हात पारेको दाबी गरेका थिए।
उनले केही ठाउँमा भने नेकपा एमालेले बुथ कब्जा गर्नेजस्ता गतिविधि गरेर धाँधली गरेको आरोप लगाएका थिए।