नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाई ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको आज १८ दिन पुगेको छ। गठबन्धन सरकारमा कुनै पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि केही घन्टामै नयाँ मन्त्रीको सपथ हुनु पर्ने हो तर एकीकृत समाजवादी मन्त्री बनाउने भनेकाहरूको सपथको टुंगो अझै भइसकेको छैन।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अब दिनमा होइन केही घन्टाभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने दाबी गरेका थिए। उनको दाबी अनुसार आजै नयाँ मन्त्रीले सपथ लिने सम्भावना लगभग शून्य छ।
एकीकृत समाजवादीले गत जेठ २२ मा चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो।
पार्टीले गरेको यो निर्णयबारे अहिले सरकारमा रहेका मन्त्रीहरूले भने सार्वजनिक रूपमा निर्णयबारे आफूहरूलाई जानकारी नै नदिइएको दाबी गर्ने गरेका छन्।
मन्त्री फेर्ने निर्णय गरेपछि बसेका सचिवालयलगायत पार्टीका बैठकले पटक-पटक मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै आएको छ।
एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रीमा अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई पठाउने, संस्कृति मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो।
पार्टी निर्णय कार्यान्वयन गर्न अध्यक्ष माधवकुमार नेपालमाथि दबाब छ भने उनले पटक-पटकका भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरिरहेका छन्।
एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने निर्णय गरेपछि बसेको सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठकले बजेट पास भएपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी गरेका थिए।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पास भइसकेको छ। गत असार २ मा बजेट पास भएको थियो। बजेट पास भएको एक सातासम्म पनि एकीकृत समाजवादीबाट हुने भनिएका मन्त्रीको सपथको टुंगो लाग्न सकेको छैन।
किन त?
प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रतिनिधि सभाबाट बजेट पास भए पनि राष्ट्रिय सभाबाट बजेट पास हुन बाँकी छ।
दुबै सदनबाट बजेट पास गरेपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको बालुवाटार स्रोत बताउँछ।
‘प्रतिनिधि सभाबाट बजेट पारित भए पनि राष्ट्रिय सभामा बजेट पारित हुन बाँकी छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मात्रै एकीकृत समाजवादीले दिएका नामअनुसार मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया अघि बढ्छ।’
असार १० गते शुक्रबारका लागि राष्ट्रिय सभा बैठक राखिएको छ। उक्त बैठकबाट बजेट पास भए त्यसपछि मात्रै मन्त्रिमण्डल पुनर्गठनबारे प्रक्रिया सुरू हुनेछ।
‘सम्भवत: आइतबारसम्म मन्त्रिमण्डल पुनर्गठन भइसक्छ, बजेट पारित नभएकोले ढिलाइ भएको हो,’ बालुवाटार स्रोतले भन्यो।
एकीकृत समाजवादीभित्र पनि मन्त्रिमण्डल पुनर्गठनको निर्णयमा एकमत भने छैन। अध्यक्ष नेपाललाई भेटेर मन्त्रीहरूले 'राम्रो काम गर्दागर्दै पनि' हटाउने निर्णय गरिएको भन्दै गुनासो पोखेका छन्।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा भने सरकारमा मन्त्री पठाउँदा नै छ महिनाका लागि भनेर पठाइएकाले कसैको असहमति नरहेको बताएका छन्।
‘छ महिनाका लागि भनेर पठाएको हो। आठ/नौ महिना भइसक्यो,’ उनले भने, ‘पार्टीले मन्त्री फेर्ने भनेपछि उक्त निर्णय कार्यान्वयन हुन्छ। कसैले पनि पार्टी निर्णय मान्दिनँ भनेको सुनिएको छैन।’