नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई भनेका छन्।
उनले शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने पनि बताए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको जानकारी दिए।
'मन्त्रीहरूका सन्दर्भमा उठेका प्रश्नहरूमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने। आज, भोलि भित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रीय कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरूको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ,'उनले भने, 'तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले आज बोल्ने होइन कि केन्द्रीय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौं भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैं लाग्नुहोस् भनेर आज मन्त्रीहरूलाई सम्झाउनुभएको छ।’
अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने समेत बताएका छन्।
उनले गठबन्धनले आफूहरूलाई मुख्य एजेण्डा बनाएको/नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिनेगरी तयारी गर्न समेत निर्देशन दिएका छन्।
'बैठकमा आम निर्वाचनको तयारीका लागि अध्यक्षले जोड गर्दै हाम्रो पार्टी गठबन्धनलाई प्राथमिकता पनि दिन्छ। तर पहिलेको जस्तो गठबन्धन मुख्यकुरा हो भन्दैन। गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छ। र देशका सबै निर्वाचन क्षेत्रहरूमा आफ्नो उम्मेदवारी उठाउनेगरी आफ्नो तयारी गरेर लाग्दछ। लाग्नुपर्दछ। तपाईं कार्यकर्ताहरू लाग्नुस् भनेर पनि आह्वान गर्नुभएको छ,’ खतिवडाले भने।
नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भने संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धनमा रही सहकार्य गर्नुपर्ने बताएका छन्।
उनले वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गचरित्र फरक भए पनि संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम राख्न सहकार्य भएको उल्लेख गरेका छन्।
उनले यो गठबन्धनलाई कम्तीमा पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष नेपालले विगतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बताए।
एकीकृत समाजवादीले नेपाली कांग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहोर्याओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाइ थियो।
नेकपा (एकीकृत समाजवादी) ले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ।