नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले सुरक्षा निकायसँग सोधेर उम्मेदवार उठाएको बताएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनले सत्ता शक्तिको दुरूपयोग गरेको आरोप लगाए।
उनले प्रमुख जिल्ला अधिकारीहरू पनि तटस्थ बस्नुपर्नेमा सत्ता गठबन्धनको विवाद हल गर्ने काममा लागिपरेको बताए।
‘शान्ति सुरक्षा कायम गर्ने, तटस्थता कायम गर्ने, सबैका लागि समान व्यवहार गर्ने सिडिओ कार्यालयहरू सत्ता गठबन्धनको विवाद हल गर्ने कार्यालयको रूपमा रूपान्तरित गरेको रिपोर्टहरू पनि हामीले प्राप्त गर्यौं,’ उनले भने।
त्यसरी नै प्रहरी प्रशासनको पनि प्रयोग भएको उनले बताए।
उम्मेदवारहरू उठाउँदा सरकारले आफ्ना कार्यकर्तालाई नसोधी सुरक्षा निकायसँग सोधेको बताए। त्यसरी सोधेर उम्मेदवार खडा गर्ने र जिताउने जिम्मा पनि दिएको उनले आरोप लगाए।
‘कुन ठाउँमा को उम्मेदवार खडा गर्नुपर्छ भन्ने कुराका लागि पनि प्रहरी प्रशासनको प्रयोग गरेको जानकारी पनि आयो,’ उनले भने, ‘गठबन्धनको तर्फबाट कसलाई उम्मेदवार बनाउँदा चाहिँ चुनाव जिताउन सजिलो हुन्छ भनेर सुझाव को सँग लिनेभन्दा कार्यकर्तासँग होइन, सुरक्षा निकायसँग सुझाव लिने। सुरक्षा निकायको सुझावको आधारमा तिमीले भनेको मान्छे उम्मेदवार बनाएको छु। जिताउने जिम्मा तिम्रो हो भनेर जिम्मा लगाइदिने।’