सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आइतबार साँझ पत्रकार सम्मेलन गर्ने भएकी छन्।
सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाक्रीले राजीनामा दिने लगायतका विषयमा जानकारी गराउन लागेकी हुन्।
नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री भएकी झाक्रीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको थियो। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई नियुक्त गर्ने पार्टीले तयारी गरेको छ।
आजमात्रै उनले संसदमा विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएकी थिइन्।
बजेटमा उठेका प्रश्नहरूको जवाफ दिएपछि राजीनामा दिने प्रतिवद्धता जनाएका मन्त्रीहरूले राजीनामा दिन थालेका छन्।
यसअघि पर्यटन मन्त्री प्रेमकुमार आलेले राजीनामा दिइसकेका छन्। उनले पनि आजै पत्रकार सम्मेलन गर्दैछन्।
नेकपा एकीकृत समाजवादीले जेठ २२ गते सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
नयाँ संस्कृति मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम मन्त्रीमा शेरबहादुर कुँवर र अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय पार्टीले गरेको थियो। नेकपा एसले हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउन लागेको हो।
नेकपा एसले श्रम मन्त्री सिफारिस गरेका कुँवर गैरसांसद हुन्।