नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय धान दिवस दिन आज कृषि मन्त्री महिन्द्र राय यादवलाई भेटेका छन्।
‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न उनले मन्त्रीलाई आग्रह गरेका हुन्। पौडेल कृषिमन्त्री महिन्द्र राय यादव भेट्न सिंहदरबार पुगेका हुन्।
मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’
उनले दुःख गरिरहेका किसानले मलखाद नपाउने कुरा स्वाभाविक नभएको बताए।
‘किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’
उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिबद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए।
जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारणबारे जानकारी दिएका थिए।
‘पहिलो त अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो। दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्यौ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन।’
मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्।