नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गरेका छन्।
सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उनले पाँच बुँदामा टिप्पणी गरेका हुन्।
उनले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताए।
पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्दै उनले चिनियाँ उखान पनि सम्झिएका थिए, ‘आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन। पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सक्दैन भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नुभएन भने जनवाद प्रयोग गरौं, हामी बनाउँछौं।’
त्यस्तै, पार्टीको विचार ठीक भएको पनि उनले बताए। अब पाँच वर्षे कार्यविभाजन गरेर एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताऔं भनेर प्रतिबद्ध हुनुपर्ने उनले बताए।
त्यसो गरेमा समाजवादको बाटो आउने पनि उनले बताए। उनले माओवादी केन्द्र अरू पार्टीहरूभन्दा भिन्न देखिनुपर्ने पनि बताए।
‘हामी अरूभन्दा केही भिन्न देखिन सकौं। स्वास्थ्य, शिक्षा सुधारौं। कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरूका छोराछोरी सरकारी स्कुलमा पढाउन लैजाऊ,’ उनले भने, ‘अरूभन्दा झन् खराब देखिन थालियो। अरूहरू बगेको मूलको खान्छन्, थाहा पाइँदैन। जस्तै: बतास, ओम्नी, यती खान्छन्। हामी ढलको पानी पिउँदैछौं। (सुब्बा, खरदार सरूवामा पैसा खाँदैछौं) हामीलाई झाडापखाला लाग्दैछ।’
उनले पार्टी अध्यक्ष पुष्षकमल दाहाललाई महिनामा १० पटक भेटेर नेताहरूले ठगिरहेको बताए। त्यस्तै काम गर्नेलाई पुरस्कार दिने र नगर्नेलाई दण्डित बनाउनुपर्ने समेत माग गरे।
‘अध्यक्ष तपाईंलाई महिनामा १० पल्ट भेटेर ठग्नेहरू महिनामा कति पल्ट फिल्ड जानु भयो भनेर सोधिदिनुहोस्,’ उनले भने, ‘काम गर्नेलाई पुरस्कर र नगर्नेलाई दण्डको विधि बनाउनुहोस्।’