सत्ता गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने मुख्य आधार विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई बनाउने भएका छन्।
सिट बाँडफाँट गर्न ५ दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएका छन्।
कार्यदलको बिहीबार बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटको आधार मतलाई मानेर जान सकिने गरी छलफल भएको छ।
कार्यदलका सदस्य, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले सिट बाँडफाँटका मोडालिटीबारे बिहीबार छलफल गरिएको बताए।
‘सिट बाँडफाँटका आधारबारे छलफल भएका छन्। सैद्धान्तिक रूपमा हामी सहमति नजिक पुगिसकेका छौं,’ बालुवाटारमा पत्रकारहरूसँग उनले भने, ‘आ-आफ्नो दलभित्र छलफल गरी फेरि बैठक बस्ने कुरा भएको छ।’
उनकाअनुसार साउन ३० मा फेरि कार्यदलको बैठक बस्दैछ।
उनले विगतमा दलहरूले ल्याएका मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए।
‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मत र संसदमा दलहरूको उपस्थितिलगायत विषय हेर्ने कुरा छ,’ उनले भने, ‘विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा थिएनन्।’
दलहरूले २०७४ सालमा ल्याएको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका सिटलाई आधार बनाउने मोडालिटीबारे पनि छलफल भएको उनले बताएका छन्।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीका अनुसार गठबन्धनका मुख्य नेताहरूलाई आपसमा नभिडाउने गरी पनि आज छलफल भएको थियो।