नेकपा एमालेको सचिवालय बैठकले संसदीय चुनाव चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ।
चुनाव चुनौतीपूर्ण रहे पनि बहुमत ल्याउने गरी अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदीय चुनावमार्फत् सरकारबाट कांग्रेसको नेतृत्वलाई बिदाइ गर्ने गरी अघि बढ्नु पर्ने धारणा राखेका हुन्।
जनतामाझ जाँदा कांग्रेस नेतृत्वको सरकारले मुलुकमा बर्बादी गरेको विषयलाई प्रमुख एजेन्डा बनाउनु पर्ने ओलीले बताएका छन्।
‘कांग्रेसको नेतृत्वमा बनेको सरकारले मुलुकलाई बर्बादीको बाटोमा अघि बढाएको छ। एमालेको बहुमतबिना मुलुकको हित नहुने कुरा हामीले जनतालाई बुझाउनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले सचिव युवराज ज्ञवालीले भने।
ओलीले एमालेको बहुमत ल्याउने गरी आन्तरिक तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। यसका निम्ति पार्टी प्रवेश अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
‘हामीले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरौं। बहुमत ल्याउने गरी आन्तरिक तयारी गरौं। पार्टीमा आउनेहरूलाई स्वागत गर्दै प्रवेश अभियानलाई तीव्रता दिऔं। एमालेको बहुमतबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने कुरा जनतालाई बुझाऔं,’ बैठकमा ओलीले भनेका छन्।
सत्ता गठबन्धनको निरन्तरता हुने भएपछि एमाले दबाबमा छ। सचिवालय बैठकमा ओलीले चुनाव चुनौतीपूर्ण रहेको बताएका छन्।‘यो चुनाव निकै चुनौतीपूर्ण हामीले जसरी पनि जित्नुपर्छ,’ओलीको भनाई उद्दृत गर्दै ज्ञवालीले भने।
एमालेको सचिवालय बैठकले चुनाव केन्द्रित अभियानका निम्ति अध्यक्ष ओलीकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। यस कमिटीले निर्वाचन अभियानमा कहाँ कसलाई खटाउने भन्ने निर्णय लिनेछ।
निर्वाचन परिचालन कमिटीमा परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्। परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिवसहित केन्द्रीय विभागका सचिव रहने छन्।
एमालेले चुनावी रणनीति तयारका निम्ति केन्द्रीय कमिटी बैठक पनि बोलाउने भएको छ। सचिवालय बैठकले भदौको ७, ९, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
यस्तै, सचिवालय बैठकको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।