नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र लेखन कार्यलाई अघि बढाएको छ।
सभापति शेरबहादुर देउवाले चुनावी घोषणा पत्र लेख्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समित गठन गरेका थिए।
विभिन्न फरक क्षेत्रमा काम गर्दै आएकाहरूलाई जिम्मेवारी दिएर कांग्रेसले केही दिनदेखि चुनावी घोषणा पत्रको मस्यौदा तयार पार्ने कार्य सुरू गरेको छ।
घोषणा पत्रको मस्यौदा अर्थशास्त्रीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको उपसमितिले तयार पार्नेछन्।
वाग्लेलाई कांग्रेसले पछिल्लो समय एकपछि अर्को जिम्मेवारी दिइरहेको छ। उनी मंसिर ४ मा प्रतिनिधि सभातर्फ उम्मेदवार हुने तयारीमा छन्। उनले चितवनबाट चुनाव लड्न क्षेत्रीय समितिमा आवेदनसमेत दिएका थिए।
वाग्लेलाई कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा चर्चासमेत गरिन थालिएको छ।
यस्तै बिशे नगर्चीको बयानका श्रष्टा श्रवण मुकारूङ पनि घोषणा पत्र तयारी समितिमा छन्। उनले २०६२/०६३ को जनआन्दोलनका बेला लेखेको कविताले जनआन्दोलनलाई थप अघि बढाउन सहयोग पुर्याएको थियो।
‘कांग्रेसको घोषणा पत्रमा सडकको भावना प्रतिनिधित्व उहाँले गर्नुहुनेछ,’ घोषणा पत्र लेखन समितिका एक सदस्यले भने।
कांग्रेसले खेलकुद क्षेत्रका विषयलाई घोषणा पत्रमा समावेश गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई पनि समिति सदस्य बनाएको छ।
घोषणा पत्र लेख्दा उनले ‘नेपालको खेलकुद: पहिचान र उद्योग’ सन्दर्भमा खेलकुद जगतको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
चलचित्र क्षेत्रमा रहेका निर्देशक मुगुका मीन भाम पनि घोषणा पत्र लेखन समिति सदस्य छन्। ‘घोषणा पत्र समितिमा साहित्य, रंगमञ्च र चलचित्रको प्रतिनिधित्व उहाँले गर्नुहुनेछ,’ ती सदस्यले भने।
चितवनको सौराहमा खेती किसानीमा संलग्न रहेका युवा सञ्जय महतोलाई पनि घोषणा पत्र तयारी समितिमा राखिएको छ। उनले कृषि क्षेत्रको संयोजन गर्नेछन्। उनी तथ्यांक विश्लेषणका विज्ञ पनि हुन्।
समाजशास्त्री दिपेश घिमिरेलाई पनि घोषणा पत्र निर्माण समितिमा जिम्मेवारी दिइएको छ। उनी केही वर्ष अमेरिकामा बिताएर नेपाल आएका हुन्। उनी त्रिविमा समाजशास्त्र पनि पढाउँछन्। विश्वभर छरिएको नेपाली डायस्पोराको भावना संयोजन गर्ने जिम्मेवारी उनलाई दिइएको छ।
मधेशी महिलाहरूको शिक्षा र जीवनमा विद्यावारिधी गरेकी प्रीति मण्डल पनि घोषणा पत्र लेखन समितिमा छिन्। सिराहाकी उनले मधेशी महिलाको भावना र सम्भावनालाई घोषणा पत्र समितिमा उल्लेख गर्नेछिन्।
कर्णालीको विकासलाई केन्द्रीय मुद्दा बनाउँदै आएकी रंगमती शाही पनि घोषणा पत्र निर्माण समितिमा छिन्। उनी निवर्तमान सांसद पनि हुन्। उनले प्रतिनिधि सभा संसदमा जनजीविकाका प्रश्न उठान गर्दै आएकी थिइन्।
नेपाली युवाहरूको साझा संगठन एशोसिएसन अफ युथ अर्गनाइजेशनजस्ता सामाजिक क्षेत्रमा क्रियाशील विकल राई पनि घोषणा पत्र तयारी समितिमा सदस्य छन्।
आयोन अध्यक्ष रहेका किराँती युवा विकल २२ वर्षका छन्। उनले मंसिरको आमचुनावमा पहिलो पटक भोट गर्नेहरूको प्रतिनिधित्व गर्नेछन्। ‘फष्ट टाइम भोटरका मुद्दा र भावनाको प्रतिनिधित्व विकलले गर्नुहुनेछ,’ ती सदस्यले भने।
नेपाली समाजमा रहेका अनेकौं विकृति र विसंगतीको अध्ययन गर्दै विकृति अन्त्य गर्नका लागि संकल्प, समयावधिबारे समाजका भावना र दृष्टिकोणबारे प्रकाश लामिछानेले प्रतिनिधित्व गर्नेछन्। उनले ऐना कार्यक्रमका लागि रिसर्च पनि गरेका थिए।
अपांगता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्व भोजराज श्रेष्ठले गर्ने भएका छन्। उनले कांग्रेसको घोषणा पत्र निर्माण समितिमा रहेर अपांगता भएकाहरूका समस्या, विचार र भावनाको प्रतिनिधित्व गर्ने ती सदस्य बताउँछन्।
घोषणा पत्र निर्माण समितिमा विश्वविभु घिमिरेले अल्पसंख्यकहरूका कुरा उठान गर्नेछन्।
घोषणा पत्रमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व भने डाक्टर अन्जनी झाले गर्नेछन्। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन् भने डाक्टर गोविन्द केसीका तर्फबाट विगतमा सरकारसँग वार्ता गर्ने टिममा उनी पनि सदस्य थिए।
नेपाल इन्जिनियर्स एशोसिएनका अध्यक्ष हरि दर्लामी मगरले इन्जिनियरिङ क्षेत्रका विषयबस्तु घोषणा पत्रमा राख्न सहयोग पुर्याउने समितिका ती सदस्य बताउँछन्।
यस्तै माइती नेपालकी प्रमुख अनुराधा कोइराला पनि घोषणा पत्र तयारी समिति सदस्य छिन्। भिन्नभिन्न क्षेत्रमा रहेर विज्ञता हासिल गरेकाहरूका सुझाव समेटेर घोषणा पत्र बनाउने तयारीमा कांग्रेस जुटेको छ।