गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेहरूको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन्।
भूमे गाउँपालिका ३ क्याङ्सी बगरमा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन्।
काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन्।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल आचार्यले बताए।
गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए। सुर्खेतबाट हेलिकप्टर लगेर घाइतेको उद्धार गर्ने तयारी छ। घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी छ।
दुर्घटनामा परेर सिस्ने गाउँपालिका ६ की ४० वर्षीया लक्ष्मी खड्का, उनका २ वर्षीय छोरा सिजन खड्का, भूमे गाउँपालिका ५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथाउत्तर गंगा गाउँपालिका ८ का ३५ वर्षीय पूर्णबहादुर बुढा र बसका चालक रामेछापका २६ वर्षीय लीलाभक्त श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण खत्रीले सेतोपाटीलाई बताए।
बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।