राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएपछि संसद सचिवालयले पठाएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।
सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
कतिपय संविधानविद्हरूले असोज १ गतेदेखि प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएको उल्लेख गर्दै र नागरिकता विधेयकसँगै अन्य प्रमाणीकरणका लागि पठाइएका विधेयक निष्क्रिय हुने दाबी गरेका थिए।
तर राष्ट्रपति भण्डारीले असोज १ गतेपछि संसदले पठाएका दुई विधेयक प्रमाणीकरण गरिदिएकी हुन्।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको पछाडि ती विधेयक निष्क्रिय हुने व्याख्या कतिपय संविधानविद्हरूले गरेका थिए।
उनीहरूले संविधानको धारा १११ को उपधारा १० को सहायता लिएका थिए। उक्त धारामा प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुने व्यवस्था गरेको छ।
कतिपय संविधानविद्ले नयाँ निर्वाचनका लागि असोज २ गते समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने अर्थात् बन्दसूची बुझाउने दिन भएकाले प्रतिनिधि सभाको कार्यकाल असोज १ गते अन्त्य हुने बताउँदै आएका थिए। तर संसदले पारित गरिसकेको विधेयकको हकमा कार्यकाल सकिए पनि प्रमाणीकरण गर्न सकिने नजिर राष्ट्रपतिले कायम गरेकी छन्।
राष्ट्रपति भण्डारीले असोज १ गते पछि पठाइएका दुई विधेयक प्रमाणीकरण गरेर आफूले जानेरै नागरिकता विधेयक प्रमाणीकरण नगरेको स्पष्ट सन्देश दिएकी छन्।