नेपाली कांग्रेसको संस्थापनइतर समूहले गरेको चियापान कार्यक्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डेलगायत नेता उपस्थित भएका छन्।
कांग्रेसमा समानुपातिक उम्मेदवार सूची संशोधन गर्न माग गर्दै भइरहेको धर्नालगायत कार्यक्रममा भने शेखरलगायत नेता गएका थिएनन्।
तर बिहीबार बत्तिसपुतलीमा आयोजित चियापानमा भने संस्थापनइतर समूहका अधिकांश नेताहरू सहभागी थिए।
शेखर-गगन पक्षका नेताहरूले पार्टीमा समान अधिकार र न्यायका लागि भन्दै विभिन्न आन्दोलन गरिरहेका छन्। सोही कार्यक्रम अन्तर्गत आज चियापान भएको थियो।
चियापानमा नेताहरू अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसी, चन्द्र भण्डारी, सञ्जय गौतम, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, भूपेन्द्रजंग शाहीलगायत पुगेका थिए।
कांग्रेसका केही जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सिफारिसमा परेकाहरू पनि चियापानमा आएका थिए।
शेखर, धनराज र गगनलाई भेट्दा नेता तथा कार्यकर्ताहरूले सत्ता गठबन्धनबाट धेरैभन्दा धेरै सिट कांग्रेसका लागि लिन र शेखर पक्षका नेताहरूलाई पनि कम्तीमा ३० देखि ४० प्रतिशत उम्मेदवार पाउने गरी पार्टीभित्र अडान राख्न आग्रह गरेका थिए।
नेता तथा कार्यकर्ताले टिकटबारे के हुन्छ भनेर सोधेपछि शेखरले 'कसैको केही थाहा छैन' भन्ने जवाफ दिएका थिए। मंसिर ४ को चुनावका लागि उम्मेदवार हुन पार्टीका तल्ला समितिबाट सिफारिसमा परेकाहरू भने नेताहरूलाई भेट्दै टिकटको लविङ गर्दै थिए।
चियापानमा पुगेकी एक कांग्रेस कार्यकर्ताले शेखरको छेवैमा उभिएर भनिन्, ‘दाइ कास्कीको के हुन्छ। लुम्बिनीमा के हुन्छ? म महाधिवेशनमा तपाईंको टिमबाट लडेँ, हारेँ। यसपालि टिकट के हुन्छ?’ उनले लुम्बिनीमा पहाडका मुश्लिम समुदायका नेतालाई पनि टिकट दिनुपर्ने उनले बताएकी थिइन्।
सत्ता गठबन्धनभित्र प्रत्यक्षतर्फको सिट बाँडफाँटबारे कुरा भइरहेको र समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका केही नाम संशोधन हुने विषयमा नेता कोइरालालगायतले संकेत गरे पनि कार्यक्रममा सम्बोधन भने गरेनन्।
कांग्रेसभित्र समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर पक्षलाई कम भाग दिएको भन्दै विरोध भइरहेको छ।
सभापति शेरबहादुर देउवाले समानुपातिक सूची सच्याउन सकिने बताएका छन्। यसबारे छलफल गर्न आज पनि कांग्रेसका नेताहरू बालुवाटारमा छलफल गरेका छन्।
चियापानमा पुगेका कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधान गरी चुनावमा जाने बताए।
‘कांग्रेसभित्र सम्पूर्ण एकता आवश्यक छ। गठबन्धनको आडमा मात्र चुनाव जितिन्छ भनेर सोच्यो भने गम्भीर त्रुटि हुन्छ,’ उनले भने, ‘टिकट वितरणमा न्यायोचित व्यवहार हुन्न कि भन्नेजस्ता असन्तुष्टि सुनिएका छन्, यसलाई समाधान गरेर जानुपर्छ।’
उनले समानुपातिक उम्मेदवार सूची संशोधन गरिनुपर्ने बताए।
‘शेरबहादुरजी सबैको सभापति हो। उहाँले आफू वरिष्ठ नेता हुँदा ४० प्रतिशत भाग लिनुभएको थियो। उहाँले न्यायोचित व्यवहार गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘जनप्रिय र सक्षम व्यक्ति जोसँग नजिक भए पनि उम्मेदवार बनाऔं। मनपरी भने गर्न हुन्न।’
तस्बिरहरू: