लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनसँग १५ सिट मागेको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री समेत दाबी गरेको स्रोतको भनाइ छ।
आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको सत्ता गठबन्धनको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि शुक्रबार लोसपा सहभागी भएको थियो।
स्रोतका अनुसार लोसपा नेताहरू कांग्रेससँग छुट्टै छलफल गरेर गठबन्धनको बैठकमा सामेल भएका थिए।
बैठकमा सत्ता गठबन्धनले जसपालाई दिएजति सिट दिन्छु भनेको लोसपाका एक कार्यकारिणी सदस्यले सेतोपाटीलाई बताए।
जसपाले भने आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो। गठबन्धनले १६ सिट दिने भने पनि यतिले नपुग्ने भन्दै आफूलाई जसले धेरै सिट दिन्छ, उतै जान खुला रहेको उसले बताउँदै आएको थियो।
शुक्रबारको बैठकमा सहभागी लोसपा नेता जितेन्द्र सोनालले भने छलफल सकारात्मक भएको मात्र बताए। उनले आफूहरू सिट संख्यामा प्रवेश नगरेको दाबी गरे।
जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए।
पछि एमाले सचिव रघुवीर महासेठको भैंसेपाटीस्थित घरमा सहमतिको मस्यौदा तयार भइरहेको जसपा स्रोतले जानकारी दिएको थियो।
जसपालाई मधेसका १६ सहित २५ स्थान दिने गरी एमालेले सहमति गर्न लागेको जसपाका एक नेताले सेतोपाटीलाई बताएका थिए। उनका अनुसार केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी सहमति हुन लागेको हो।
बिहीबारदेखि सत्ता गठबन्धन बैठकमा सहभागी नभएको जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ। एमाले र जसपा नेताहरूको बैठक भए पनि औपचारिक सहमति हुन सकेको छैन।
एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताएका थिए।
शुक्रबार भने गठबन्धनले लोसपालाई पनि बैठकमा सहभागी गराएको हो।