नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। शुक्रबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले ताप्लेजुङबाट टिकट पाएको पुष्टि गरे।
'मैले ताप्लेजुङमा दोहोर्याउने भएँ,' भट्टराईले सेतोपाटीसँग भने।
ताप्लेजुङ भट्टराईको गृहजिल्ला समेत हो। उनले ताप्लेजुङबाटै २०७४ सालमा वाम गठबन्धनका तर्फबाट चुनाव जितेका थिए।
त्यस्तै अर्का एमाले नेता घनश्याम भुसालले भने टिकट पाउने वा नपाउने भन्ने टुंगो भइनसकेको उनीनिकट एक नेताले बताएका छन्।
'घनश्याम भुसालबारे अझै टुंगो भइसकेको छैन,' ती नेताले भने।
अर्का नेता सुरेन्द्र पाण्डेको पनि टिकट पक्का नभएको स्रोतले जनाएको छ। पाण्डेको चितवन क्षेत्र नम्बर १ हो। उनी २०७० र २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएका थिए।
चितवनकै क्षेत्र नम्बर २ का कृष्णभक्त पोखरेलले भने टिकट पाइसकेका छन्।
स्रोतका अनुसार चितवन क्षेत्र नम्बर १ मा एमाले अध्यक्ष केपी ओलीले जे एन थपलियालाई टिकट दिन चाहेका छन्।
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले भने प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।
सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए।
२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन्।
उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए।