पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन्।
ओलीले आफ्नो दलको बहुमत आउने दाबी गर्दै हिँडेको सुनिएको भन्दै घर्तीले संविधान र व्यवस्था मास्न उद्दत ओलीलाई मत दिए देश र जनताले दुःख पाउने उल्लेख गरिन्।
०७४ को निर्वाचनमा पाँच वर्षका लागि जनताले म्याण्डेट दिए पनि सरकार चलाउन असफल भएर दुई पटकसम्म असंवैधानिक ढंगले प्रतिनिधिसभा भंग गरेका ओलीले फेरि जनतामा गएर बहुमत माग्नु अनैतिक भएको आरोप उनको थियो।
‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर पाँच वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुई पटकसम्म संसद विघटन गर्नुभयो’, ‘काठमाण्डौं क्षेत्र नम्बर–२ अन्तर्गत शंकरापुर नगरपालिको नाङ्लेभारेमा शुक्रबार आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले भनिन्, ‘मैले सुनेको छु केपी ओलीले आफ्नो दलको बहुमत आउँछ भन्दै हिँड्नुभएको छ रे। जनताले पाँच वर्षका लागि दिएको म्याण्डेट तोडेर पार्टी फुटाउनुभयो, संसद विघटन गर्नुभयो। अब जनताले उहाँलाई अभिमत होइन सजाय दिनुपर्छ। ओली जी मंसिर ४ मा जनताले दिने सजाय भोग्न तयार भएर बसे हुन्छ।’
उनले ओलीको प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिन मतदातालाई अपिल गरिन्।
ओलीको प्रतिगमनले जिते जनताले दुःख पाउँछ र देशमा अव्यवस्था पैदा हुने आरोप उनले लगाइन्।
ओलीले संविधान र लोकतन्त्र तथा जनमतमाथि प्रहार गरेकाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धि दिलाउन बाध्य भएर लोकतान्त्रिक–वाम गठबन्धन निर्माण गरेको उनको तर्क थियो।
घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरूको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन्।
‘देशले आज समृद्धि, शान्ति र स्थिर सरकार मागेको छ। देशले आज संविधान र व्यवस्थाको रक्षा मागेको छ’, उनले भनिन्, ‘नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको यो व्यवस्था हामी जोगाउँछौं।’