नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था माँस्ने अभियानमा सक्रिय रहेको बताएका छन्।
ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए।
आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रष्ट भएको पुनको भनाइ थियो।
‘आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटक-पटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नाममा जुर्मुराई रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनविरूद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृहजिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘पटक/पटक संविधान च्यात्नेहरू, प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरू, हिजोका राजावादीहरू, मधेशलाई अलग राज्य बनाउन चाहनेहरू, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरूको प्रतिगामी मोर्चा जनताविरूद्ध खडा गरिएको छ। हामी मंसिर ४ मा यसलाई परास्त गर्नेछौं।’
पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठबन्धन निर्माण गरेको बताए।
राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्न गठबन्धन निर्माण गरिएको चर्चा पुनले गरे।
‘देशमा प्रतिगमन भयो। दुई पटक संसद विघटन गरियो। लोकतन्त्रमाथि प्रहार भयो। संविधान च्यात्ने काम भयो। नेपाल जनताका आकांक्षामाथि प्रहार गर्ने काम भयो। त्यसलाई बचाउने क्रममा हामीले लोकतापन्त्रिक–वाम गठबन्धन बनायौं। सडकबाट, अदालतबाट, विभिन्न मोर्चाहरूबाट हामीले प्रतिवाद गरेर संविधान र लोकतन्त्रको रक्षा गर्यौं। यो सडकबाट निर्माण गरेको गठबन्धन हो। राजनीतिक आधारमा निर्माण गरेको गठबन्धन हो। लोकतन्त्रको रक्षाको लागि राजनीतिक स्थायित्वको लागि बनाइएको गठबन्धन हो’, उनले भने।