शक्तिशाली राजनीतिक विरासत बोकेको पार्टी भारतीय कंग्रेसका उत्तराधिकारी हुन्, राहुल गान्धी। कन्याकुमारीदेखि कश्मिरसम्म पैदल यात्रामा निस्केका राहुल ७६ औं दिनमा धुस्रे-फुस्रे हुँदै अहिले भारतको मध्य भागमा पुगेका छन्।
हिन्दुवादी सत्तारूढ दल भारतीय जनता पार्टीले राहुललाई समाजदेखि टाढै रहने सम्भ्रान्त राजकुमारका रूपमा चित्रण गरिरहेको छ। यो अवस्थामा उनी आम मानिससँग संवाद गरिरहेका छन्। बालबालिकासँग हात मिलाइरहेका छन्, वृद्धवृद्धासँग अंकमाल गरिरहेका छन्। दृश्य हेर्दा यस्तो लाग्छ, जनतासँग उजाडिएको सम्बन्धलाई उर्वर बनाउने राहुलको अभिप्राय क्रमश: अंकुरण भइरहेको छ।
गत महिना मध्यप्रदेशको बरहानपुर पुगेर राहुलले जनतासँग सम्बन्ध प्रगाढ बनाउन खोज्नुको कारण खुलाए: लोकतान्त्रिक सबै संस्था सत्ताको कब्जामा छ। संसद, निर्वाचन आयोग, मिडिया सबै-सबैमा उसको कब्जा छ। सडकमा आएर जनतासँग आफ्नो कुरा राख्नुको अन्य कुनै विकल्प भएन। सडकबाट जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन म तपाईंहरूमाझ आएको हुँ।
१६ महिनापछि भारतमा आम निर्वाचन हुँदैछ। कमजोर प्रतिपक्षी कांग्रेस आफ्नो साख फर्काउने पक्षमा छ। राहुलको पैदल यात्राले भारतीय जनता पार्टीको प्रभुत्वमा धक्का लगाउन सफल होला वा नहोला निर्वाचनले नै निर्धारण गर्नेछ।
भारतको इतिहासमै सर्वशक्तिमान रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मनिरपेक्ष राजनीतिक अवधारणालाई नै परिवर्तन गरेका छन्। हिन्दुवादी राजनीतिलाई प्रोत्साहन गर्दै मुस्लिम अल्पसंख्यकलाई किनारा पारेका छन्। मोदीको छाप र प्रभाव यति गहिरो छ कि उनका समर्थकहरू भारतमा भाजपाले अझै एक दशक राज गर्ने भन्दै महिमा गाइरहेका छन्। मोदी र भाजपा शक्तिशाली बनेको भारतमा बहुदलीय व्यवस्था भने धरापको अवस्थामा छ।
संवैधानिक संस्था, संसद र मिडियामा समेत भाजपाको जबरजस्त पकड छ। यो अवस्थाका कारण प्रतिपक्षी दललाई आम जनतामाझ आफ्नो धारणा राख्नै मुस्किल भएको प्रतिपक्ष दलहरूको गुनासो छ।
कुनै समयको सशक्त बहस गर्ने थलो संसद अहिले मन्त्रीहरूको कब्जामा छ। संसद नीतिगत विषयमा बहसभन्दा मन्त्रीको भाषणमै सीमित छ। मिडियामा लगानी गरेर होस् वा विज्ञापनदातालाई प्रभावमा पारेर भाजपाले मिडिया पनि कब्जा गरिसकेको छ। त्यसैले पनि राहुलको पैदल यात्रालाई प्राइम टाइममा प्रसारण हुने कार्यक्रमले बिरलै स्थान दिए।
पार्टीप्रति जनताको ध्यान आकृष्ट गर्न यसरी पैदल यात्रा गर्नुपर्ला भन्ने कुरा राहुलले सायदै सोचेका थिए। यो स्थिति भारतीय कंग्रेस र गान्धी परिवारका लागि अकल्पनीय नै थियो। तर नियतिले उनलाई सडकबाट जनतासँग सम्बन्ध स्थापनाका लागि विवश बनायो।
स्वतन्त्रताको ७५ वर्ष लामो इतिहास बोकेको भारतमा कांग्रेसले करिब २ तिहाइ समय राज गर्यो। गान्धी र नेहरू परिवारका तीन प्रधानमन्त्रीले भारतमा ४० वर्ष शासन गरे। तर राहुल गान्धीको नेतृत्वमा कांग्रेस खुम्चियो। अहिले लोक सभाको ५ सय ४३ सिटमा कांग्रेसको जम्मा ५३ सिट छ। भाजपाले ३ सय ३ सिट जितेको छ।
भारतीय कंग्रेसमा इतिहासदेखि नै निष्ठा र सिद्धान्तभन्दा पनि पारिवारिक विरासत केन्द्रमा छ। कंग्रेसको प्रभाव र पतन दुबै गान्धी परिवारसँग तुलना हुने गर्छ। गान्धी परिवार शक्तिशाली भए पार्टी बलियो हुने नभए लुलो हुने भन्दै पार्टीको भविष्य सरलीकृत गरिन्छ। कांग्रेस कमजोर बन्दा आन्तरिक कलह र झगडा झागिँदो छ। गान्धी परिवारले बलियोसँग पार्टी सम्हाल्न नसक्दा पार्टीभित्र गुट झाँगिएको छ। यसले स्थानीयदेखि राष्ट्रिय स्तरमै पार्टीलाई समस्यामा पारेको छ।
राहुलको पैदल यात्रा कांग्रेसको पुनर्जीवनको अन्तिम अस्त्र रहेको राजनीतिक शास्त्रका प्राध्यापक सुमित गांगुली बताउँछन्।
‘निश्चय पनि राहुलको परिचय बदल्न र पार्टीको विरासत फर्काउन यो पैदल यात्रा अन्तिम अस्त्र हो। तर, धुमधामसँग जारी पैदल यात्रामा राहुलले मुलुकका लागि सशक्त एजेन्डा र वैकल्पिक राजनीतिक विचार दिन सकिरहेका छैनन्,’ उनले भने।
राहुलले आफ्नो पैदल यात्रा १ सय ५० दिनमा सम्पन्न गर्नेछन्। दिनमा उनी २० किलोमिटर हिँड्छन् र रातमा ट्रकमै सुत्छन्। राहुलका अनुसार उनको उद्देश्य एउटै छ- भारतमा भाजपाले निम्त्याएको धार्मिक विभाजनलाई रोक्नु र मुलुकलाई एकीकृत बनाउनु।
सेप्टेम्बरदेखि सुरू भएको पैदल यात्राप्रति धेरैको आकर्षण बढेको छ। ऋणको चापमा परेका कृषक, धनाढ्यका शोषणको शिकार बनेका आदिवासीदेखि रोजगारीको अभावमा पिल्सिएका शिक्षित जनशक्ति यसमा जोडिएका छन्। सत्तारूढ दलप्रति आक्रामक बन्नका निम्ति राहुल यिनै समुदायको आवाज बोलिरहेका छन्।
उनको भाषणबाट प्रेरित हुँदै भाजपाका समर्थक अमर ठाकुरले भनेका छन्, ‘राहुलले हामीलाई धैर्यतापूर्वक सुने। हाम्रो पीडा बुझे, त्यसलाई सम्बोधन गर्न नसकेको सरकारप्रति निर्मम रूपमा प्रस्तुत भए। आम मानिसको पीडाको वकालत गर्ने राहुलको पार्टीलाई नै अब मत दिने हो।’
राहुलले मुलुकलाई एकतावद्ध बनाउने भन्दै हिन्दुवादी राजनीति गरिरहेको भाजपामाथि ठूलो वैचारिक आक्रमण गरेको कांग्रेस नेताहरूको बुझाइ छ।
‘राजनीतिको पासामा यो हाम्रो अन्तिम चाल हो। पैदल यात्राको माध्यमबाट हामीले पार्टीको स्थितिमा कुनै पनि परिवर्तन ल्याउन सकेनौं भने समग्र पार्टी र सिद्धान्तमा यसको असर भयानक पर्नेछ,’ राहुलसँगै पैदल यात्रा गरिरहेका कांग्रेस नेता जयराम रमेशको भनाइ छ।
भारतीय राजनीतिमा मोदीको छाप यस्तो छ कि राहुलको यो यात्रालाई अधिकांशले मोदीकै अनुकरण गरेको भन्दै टिप्पणी गरेका छन्। मोदीको अनुकरण गरेर उनको विकल्प हुन नसक्ने कतिपयको टिप्पणी छ।
राहुलको निधारमा प्रायजसो रातो चन्दन देखिन्थ्यो, यो हिन्दु निष्ठाको प्रतीक हो। पैदल यात्रामा त्यस्तो देखिँदैन। राहुलले क्लिन सेभ आवरणलाई परिवर्तन गर्दै झ्याप्प दाह्री पालेका छन्। पैदल यात्राका क्रममा गाउँघर तिरका मठ-मन्दिर वा अन्य धार्मिक केन्द्रमा पस्न राहुल छुटाउँदैनन्।
स्थापित राजनीतिक दलहरूका लागि यस्ता पैदलयात्रा परम्परा नै हुन्। सन् १९९० मा भाजपाले यस्तै पैदल यात्रा गरेको थियो। पैदल यात्रामार्फत नै भाजपाले सशक्त उदयको आधार तय गर्यो। वर्तमान राजनीतिक मञ्चमा असान्दर्भिकझैं बनेका राहुलले आफ्नो पहिचानलाई परिवर्तन गर्न सक्लान् वा नसक्लान् अझै स्पष्ट छैन। तर, पैदल यात्रामार्फत उनी एउटा तिरले दुई शिकार गर्ने रणनीतिमा छन्। पहिलो, राजनीतिको केन्द्रमा आफूलाई उभ्याउने। दोस्रो, पारिवारिक विरासत बाहिर पुगेको नेतृत्वलाई परिवारभित्रै फर्काउने।
नेतृत्व विकासमा गान्धी परिवार बाधक रहेको आरोप लाग्दै आएको थियो। पार्टीभित्रको बढ्दो आक्रोशलाई मत्थर पार्नका निम्ति गत अक्टोबरमा पहिलोपटक गान्धी परिवारले कांग्रेसको नेतृत्व बाहिरै रहने निर्णय गर्यो। २४ वर्षपछि पार्टीको नेतृत्व गान्धी परिवार बाहिर पुगेको हो। तर पार्टी अध्यक्ष चयन भएका मल्लिकार्जुन खड्के गान्धी परिवारनिकट व्यक्ति हुन्।
कांग्रेसमा नयाँ नेतृत्व चयन र राहुलको पैदल यात्राले गान्धी परिवार नै पार्टी विकासका लागि बाधक रहेको पुष्टि गर्ने कतिपय आलोचकहरूको मत छ। यो पैदल यात्राले कांग्रेसको प्रतिष्ठामा कति प्रभाव पार्ला अहिले नै भन्न सकिने अवस्था छैन। तर, मोदीको नेतृत्वका कारण निरास जनतामाझ राहुलले आशा सञ्चार गरिरहेको विषय निर्धक्क भन्न हिच्किचाउनु पर्दैन।
महाराष्ट्रदेखि मध्य प्रदेशसम्मको यात्रामा सयौं युवाहरूले प्रहरीको घेराबाहिर रहेर राहुललाई साथ दिइरहेका थिए। त्यो भीडमा मुस्लिम पृष्ठभूमिका श्रमिक, शैयद सराफत अली पनि थिए। घरबाट तीन घन्टाको दूरी पार गर्दै शैयद राहुललाई भेट्न पुगेका थिए।
उनले भारतीय राजनीतिमा हाबी भएको धार्मिक अस्त्रका कारण समाज र परिवारको विखण्डनबारे धारणा सुनाउन उनी त्यहाँ पुगेका थिए। शैयद राहुल नजिक आउन खोज्दा समर्थकहरूले रोक्न खोज्थे। राहुलले शैयदलाई आउने अनुमति दिए। केही मिनेट दुईबीच कुराकानी पनि भयो। राहुललाई भेटेपछि शैयदले भने, ‘कम्तीमा राहुलले मलाई अंकमाल त गरे। अरू त हामीतर्फ नजर लगाउन पनि चाँहदैनन्।’
राहुलसँगको भेटपछि भावुक हुँदै शैयदले आफ्ना पाइला गाउँतर्फ चाले। हिन्दुवादी राजनीतिका कारण बढ्दो ध्रुवीकरणलाई अन्त्य गर्ने उद्देश्यसहित अघि बढेका राहुलले उही धुस्रे-फुस्रे मुद्रामा आफ्नो यात्रालाई निरन्तरता दिए।
(द न्युयोर्क टाइम्समा प्रकाशित यासिरको यो आलेख सेतोपाटीका शिशिर ढकालले भावानुवाद गरेका हुन्।)