बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई सुदृढ बनाउन वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
‘संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू एकमत हुनुभएको छ। गठबन्धनलाई निरन्तरता दिने विषयमा संयुक्त वक्तव्य जारी हुँदैछ,’ गुरुङले सेतोपाटीसँग भने।
शक्ति बाँडफाँटको विषयमा भने सांसदहरूको शपथपछि छलफल गर्ने सहमति भएको गुरुङले बताए।
‘निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई निर्वाचन प्रतिवेदन बुझाउनै बाँकी छ। निर्वाचितहरूको शपथ पनि हुनै बाँकी छ। पहिले केपी ओलीले गरेको गल्तीजस्तै अहिले गठबन्धनले सांसदहरूको शपथ नै ग्रहण नभई प्रधानमन्त्रीबारे निर्णय नगर्ने शीर्ष नेताहरूको मत छ,’ उनले भने।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९, ०७:२१:००