नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।
सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुची तयार गर्ने जिम्मेवारी सभापतिलाई दिएको प्रवक्ता प्रकाशरण महतले बताए। देउवाले सुची टुंगो लगाउन बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सुचीलाई अन्तिम रूप दिने प्रवक्ता महतको भनाइ छ, ‘केन्द्रीय कार्यसम्पादन समितिमा आएका सुझावलाई समेत समेट्दै सभापतिले सुची तयार गर्नुहुनेछ,’ उनले भने।
कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। संघीय संसदमा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ। यो प्रावधान अनुसार २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्नेछ।
पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपलमान श्रेष्ठ र जीवन परियारले दाबेदारी पेश गरिरहेका छन्। तीन जना पुरुष चयनका लागि जुनै पनि कलस्टरबाट चयन गर्न सकिने नेता मिनेन्द्र रिजालले बताएका छन्।
निर्वाचन आयोगले दलहरूलाई अपरान्ह चारबजेभित्र सुची पेश गर्न भनेको छ।