बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचन झन्डै १ घन्टा ढिला सुरू भएको छ।
निर्वाचन संयोजक भिष्मराज आङ्दम्बेका अनुसार मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय भएपछि मतदान सुरू भएको हो। कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ।
सुरूमा सभापति एवं संसदीय दलको नेताका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन्। त्यसपछि गगन थापाले मतदान गरे। अन्य सांसदहरूले क्रमशः मतदान गरिरहेका छन्।
यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।
संस्थापनइतर समूहले महामन्त्री थापालाई साझा उम्मेदवार बनाएसँगै दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहेका छन् भने उपसभापति पूर्णबहादुर खड्का समर्थक रहेका छन्।
थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल रहेका छन् ।
कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन् । दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।