काठमाडौं महानगरपालिकाले महानगरवासीमाथि मच्चाएको ज्यादतीलाई सुमन सायमिले निरंकुशताको संज्ञा दिएका छन्।
आइतबार माइतीघर मण्डलमा महानगरपालिकाको ज्यादतीविरुद्ध खबरदारी कार्यक्रममा उनले मेयर बालेन शाहलाई 'निरंकुश शासक' बताएका छन्।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति अध्यक्षसमेत रहेका सायमिले कार्यक्रममा भने, ‘पहिलेका शासकभन्दा बालेन महानिरंकुश र अत्याचारी भएर आएका छन्। पहिला त हामीलाई कुनै पनि निजी सम्पत्ति लिन सूचना दिइन्थ्यो, मार्किङ गर्थ्यो र हामी न्यायालय पनि जान पाउँथ्यौं। अहिले त न सूचना दिएको छ, न मार्किङ गरेको छ। सिधै डोजर लिएर आएको छ र आक्रमण गरेको छ। यस्तो लुटतन्त्र हामी सहन सक्दैनौं। यस्तो पावरको दुरूपयोग धेरै दिन टिक्दैन।’
उनले अगाडि भने, ‘पावर भनेको अपराधीमाथि देखाउने हो, जनतामाथि होइन। हामी त सरकारलाई कर तिरेर बसिरहेका छौं र त्यही करले सरकार चल्छ। यदि महानगरलाई कर तिर्ने जनतासँग कमाइ भएन भने कसरी तिर्ने?’
यस्तो व्यवहारलाई सायमिले गैरकानुनी, गैरसंवैधानिक र मानवअधिकार हननका रूपमा उल्लेख गरेका छन्। आफूहरूको आन्दोलन शंखमूलको एउटा घटनाबाट सुरू भएको बताउँदै सायमिले भने, ‘जसरी शंखमूलका एक स्थानीयको निजी सम्पत्तिमा बिनाआधार, बिनाप्रमाण, बिनासूचना महानगरले आक्रमण गर्यो, त्यो आक्रमण एक जनालाई मात्र गरिएको आक्रमण होइन। यो त आमनागरिकको अधिकार कुण्ठित पार्न गरिएको हो। यो त देश अनि संविधानलाई कुण्ठित पार्न खोजिएको हो। त्यति जिम्मेवार पदमा बसेर उहाँले यस्तो गर्न मिल्दैन।’
महानगर जनताविरूद्ध ओर्लन्छ भने आफूहरू पनि महानगरविरूद्ध ओर्लन तयार भएको सायमिले बताए।
‘जनताले नै उहाँलाई त्यो पदसम्म पुर्याएको हो। यदि उहाँ जनताको भावनाविपरीत जानुभयो भने उहाँलाई त्यो पदबाट ओराल्ने अधिकार हामीसँग छ। त्यसले द्वन्द्व पनि आउन सक्छ तर द्वन्द्वको चाहना हाम्रो होइन। त्यही भएर उहाँलाई सच्चिनुस् भनेर खबरदारी गर्न चाहन्छौं,’ उनले भने।
खबरदारी कार्यक्रममा सयौं महानगरवासी माइतीघर सडकमा आएका थिए। उनीहरूले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।
यो पनि पढ्नुहोस्:
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, १८:३२:००