राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ।
बिहीबार साँझ बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने अडान कायम राखेको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त कुरा राखेका हुन्।
‘हामीले पार्टीले गृह मन्त्रालय पाउनुपर्छ भनेका हौं। र अरू पार्टीले हाम्रो पार्टीको निर्णयमाथि हस्तक्षेप गर्न पाउँदैन भनेका हौं,’ उनले भने, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं। र पार्टीबाट को व्यक्ति पठाउने भन्ने अधिकार पार्टीको हो।’
यस्तै गृह मन्त्रीका लागि सांसद वा गैर सांसदको नाम पठाउने भन्ने प्रश्नमा उनले पार्टी बैठकबाट निर्णय हुने बताए।
‘जब प्रधानमन्त्रीले पार्टीबाट गृह मन्त्रीको नाम पठाउनुस् भन्नुहुन्छ तब यसरी नै हामी बैठक बसेर निर्णय गर्छौं,’ उनले भने।
रास्वपाको बैठक जारी नै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेका थिए।
फोनमा उच्चस्तरीय बैठक नबसेको र दुई दिनका लागि कुनै पनि निर्णय नलिन भन्दै अनुरोध गरेको पनि बताए। त्यसपछि बैठक दुई दिनका लागि स्थगित भएको हो।
त्यस्तै आफ्ना एजेन्डामा काम गर्न गृह मन्त्रालय नै रोजेको पनि उनले बताए।
‘गृह मन्त्रालयसँग जोडिएको विषय के हो भने हामी पद पाएर सरकारमा गएका होइनौं। हामीले भन्दै आएको डेलिभरीका एजेन्डाका कुराहरू हुन्। हामीलाई काम गर्ने कुराहरूमा अगाडि बढाउनुपर्छ। हामीलाई काम गर्ने ठाउँ दिइयोस् भन्ने कुराहरू हुन्,’ उनले भने, ‘काम गर्ने ठाउँ दिइन्छ, हस्तक्षेप हुँदैन भन्ने जस्ता कुराहरू भनिएका कारण हामी सरकारमा गएका हौं।’
उनले थपे, ‘साझा न्यूनतम कार्यक्रममा राखिएका कुराहरू लागू गरिन्छ अब भनेर हामी सरकारमा गएका हौं। र त्यो क्रममा उहाँहरूले हामीले गृह दिने कुरा गर्नुभयो।’
यसरी नै गृह मन्त्रालय नदिएर राजनीतिक इमानदारिता तोडिन्छ भने अन्य मन्त्रालयमा पनि काम गर्न पाइन्छ भन्ने विश्वास गर्न सक्ने बाटो नहुने उनले बताए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, २१:१२:००