राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल सर्वसम्मत हुने देखिएको छ।
नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने सम्भावना बढेको हो।
सत्तारूढ दलका तर्फबाट माओवादी केन्द्रकी अर्याललाई उम्मेदवार बनाउने तयारी भएको माओवादी केन्द्रका महासचिव देव गुरूङले सेतोपाटीलाई बताए।
नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताए।
अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।
उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्।उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन्।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, ११:०४:००