नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद 'चुनावी सभा' हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।
नेता पौडेलले संसदमा झूटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।
सांसद पौडेलले भने, ‘मलाई यो संसद हो कि चुनावी सभा हो? छुट्याउन गाह्रो भइरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन। सबैको नजर केन्द्रित भएर संसदमा झूटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ।’
नेता पौडेलले मुलुकको सबभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १३:०८:२७