सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारण सोधेको छ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
साथै मुद्दाका दुवै पक्षलाई बहसका लागि बोलाएको छ। दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्नेछ।
अधिवक्ता विमल पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै रिट दिएका थिए।
रिटमा कांग्रेस संसदीय दलका नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन समेत माग गरिएको छ।
सुरूमा उक्त रिट सर्वोच्च अदातलले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसदको आन्तरिक विषय भएको भन्दै गरेको दरपीठविरूद्ध अधिवक्ता पोखरेलले
अर्को निवेदन दिएका थिए। उक्त निवेदनमा एकल इजलासले सुनुवाइ गर्दै दर्ता गर्न आदेश दिएको थियो।
इजलासको आदेश अनुसार रिट दर्ता भएपछि रिटमाथिको सुनुवाइ अघि बढेको हो।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १७:४४:००