लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्।
एमाले पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत रहेका न्यौपानेलाई मुख्यमन्त्री गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री गिरीले प्रदेश सरकारका काममा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय रहेका न्यौपानेले नेकपा विभाजनपछि एमालेमै रहने निर्णय गरेका थिए। सोही कारण तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपानेले प्रदेशसभा सदस्य पद समेत गुमाएका थिए।
न्यौपाने चितवनमा सम्पन्न नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनलाई एमालेले लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी समेत दिएको छ।
यसैगरी एमाले लुम्बिनी प्रदेशसभाको संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।
बुधबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा रूपन्देहीका तुलसी चौधरीलाई चयन गरेको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले जानकारी दिए।
रूपन्देही क्षेत्र नं. ३ को १ बाट निर्वाचित चौधरी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
यसैगरी सचेतकमा भने दाङकी रेखाकुमारी शर्मालाई चयन गरेको एमालेले जनाएको छ। शर्मा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन्।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १८:५९:००