भूकम्प गएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सँगै कर्जाको ब्याजदर पनि बढेको छ। भूकम्प गएपछि बैंकहरूले कर्जाको ब्याजदरमा एकदेखि डेढ प्रतिशतसम्म ब्याजदर बढाएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
भूकम्प गएको अघिल्लो दिन अर्थात वैशाख ११गते वाणिज्य बैंकमा १३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थियो। अहिले निक्षेप बढेर १३ खर्ब ९४ अर्ब पुगेको छ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउदा त्यसको मार बैंकबाट कर्जा लिनेमाथि परेको छ।
भूकम्प जानुभन्दा अघिल्लो दिनसम्म वाणिज्य बैंकको कर्जा लगानी १० खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा त्यो अहिले १० खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। भूकम्प गएपछि बैंकहरूमा निक्षेप ६३ अर्ब थपिए पनि कर्जा दुई अर्ब रुपैयाँ मात्र थपिएको छ। यो तथ्यांकले कर्जाको माग घटेको पुष्टि गरेको छ।