शुक्रबार प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसद्बीच आरोप–प्रत्यारोप भएको छ।
प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबार प्रतिपक्षी दलका सांसदहरू उठेर हिँडेपछि गणपुरक संख्या नपुगेको र राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत हुन नसकेको बताएका थिए।
‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा प्रतिपक्षीको अनौठो नाटक मञ्चन देखियो। गणपुरक पुग्छ कि भनेर उहाँहरू १०–१५ जना बाहिर निस्कनुभयो, अत्यन्त दुःख लाग्यो। दुःखका साथ भन्नुपर्छ, यो सत्तापक्षकोमात्रै विधेयक पास गर्ने थलो हो कि, प्रतिपक्षीको मात्रै हो!,’ उनले प्रश्न गरे।
त्यपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलका सांसदहरू उठेर विरोध जनाउन थाले।
सभामुख देवराज घिमिरेले सांसद केसीलाई एकछिन रोकिन आग्रह गरे।
सत्तापक्षका सांसदहरूले बोलिरहेका बेला सभामुखले रोक्नु नियमावलीसम्मत नभएको भन्दै प्रतिवाद गरे। त्यसपछि सभामुख घिमिरेले सांसद केसीलाई बोल्न दिएका थिए।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा उठेका प्रश्नको जवाफ दिनुको सट्टा सत्तापक्षका सांसद लगाएर प्रतिपक्षी दललाई हिलो छ्याप्न खोजेको बताए।
‘हामी संसद् रोक्ने पक्षमा छैनौं। व्यवस्थित ढंगले अघि बढोस् भन्ने चाहन्छौं। सरकारले आएर रोष्ट्रमबाट जवाफ दिने होइन, सत्तापक्षकै माननीयज्यूहरूलाई लगाएर प्रतिपक्षीहरूमाथि हिलो छ्याप्ने, भ्रम सिर्जना हुनेगरी जुन खालको व्यवहार गरिँदैछ। यसप्रति हामी आपत्ति व्यक्त गर्न चाहन्छौं,’ उनले भने।
प्रमुख सचेतक गिरीले देशमा बहाल रहेका मन्त्रीहरूको अक्रर्मण्यताका कारण दिनदहाडै नागरिकले ज्यान गुमाउनु परेको बताए।
जिम्मेवार मन्त्रीहरू अर्बौंको भ्रष्टाचार काण्डमा अख्तियारमा धाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनले बताए।
‘बहालवाला मन्त्री झण्डा हल्लाउँदै अख्तियारमा जाँदै गर्दा अनुसन्धान प्रभावित बनाउने काम सरकारको कारणले भएको छ। व्यक्तिको नाममा लिजमा दिने र राष्ट्रको नाममा लुट गर्ने काम अहिलेका सरकारका मन्त्रीहरूबाट भएको छ। यस्ता गम्भीर विषयहरूमा प्रतिपक्षहरू एक स्वरका साथ सरकार र सुशासनको मामिलामा सरकार कहाँ छ भनेर प्रश्न उठाइरहेका छौं। निरन्तर रूपमा हानमी सुशासनको सवालमा संसदमा आवाज उठाएका छौं। प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्यो। आफूले बनाएका आयोगहरूका प्रतिवेदनहरू संसदमा पेश गर्नुपर्यो। सार्वजनिक गर्नुपर्यो भनेर हामीले भनिरहेका छौं। हामीले संसदलाई रोक्न चाहेका छैनौं। संसदलाई हामीले प्रभावित बनाउन चाहेका छैनौं। संसद व्यवस्थित ढंगले अगाडि बढोस् भनेर निरन्तर रूपमा लागिरहेका छौं,’ उनले भने।
प्रतिपक्षका कारणले आज कहाँनिर विधेयकहरू पेश गर्न र कानुन निर्माणका लागि बाधा पुग्यो भनेर पनि उनले सोधे।
‘यदि बहुमतको सरकार हो भने संसदका बहुमत सदस्यहरूको विश्वास सरकारसँग छ भने आफूले पेश गरेको विधेयक संसदबाट पारित गर्ने आँट सरकारसँग छ कि छैन? छैन भने आज सत्ताबाट नैतिक रूपले राजीनामा दिनुपर्छ,’ उनले भने।
सांसद केसीको भनाइलाई राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिवाद गरे।
उनले पार्टीका लागि देश कि देशको लागि पार्टी भन्दै प्रश्न गर्दै प्रश्न गरे। गठबन्धनमा बहुमत रहँदा बैठकमा कम सांसद उपस्थित हुनुले गठबन्धनमा भ्वाङ परेको हो भन्दै व्यंग्यसमेत प्रहार गरे।
‘उहाँहरूले विधेयक ल्याएपछि त्यो चलाउने दायित्व पनि उहाँकै हो। गठबन्धनमा प्वाल परेको हो? हामी यहाँ प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गरिरहेका छौं। यो क्यालेन्डर के हो? यो क्लोन्डर थिएन? नभए फोटोकपी गरेर हामी उपलब्ध गराउँछौं!,’ उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालकुमारी घटनाबारे प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्ट्रमबाट जवाफ नदिएसम्म संसद चल्न नसक्ने अडान प्रस्तुत गरे।
‘सरकार पक्षलाई सोध्न चाहन्छु– क्यालेन्डर बनाएका छौं। हेरिदिनूस्। आँखा देख्नुहुन्न भने चस्मा लगाउनूस्। क्यालेन्डर लागु गरिएको छ, कार्यव्यवस्था समिति छ। सभामुखले बेलाबेला बोलाउनुभएको छ। तपाईंहरू गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीँ रूमल्लिने संसदमा नआउने। महिनामा ४/५ पटकको संसद बैठकमा प्रचण्ड सरकारले बिजनेश नै नदिने, आरोप चाहीँ हामीलाई लाउने?,’ उनले भने।
उनले सत्ता पक्षका गल्तीका कारण संसद् बैठक प्रभावित भएको बताए।
‘हिजो हामीले प्रधानमन्त्रीले भनेको कुरा गरेका हौं। आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो? हत्या गरेको हत्यारालाई किन पक्राउ नगरेको? रोष्ट्रमबाट जवाफ चाहिन्छ। होइन भने संसद आज चल्दैन,’ उनले भने।
त्यसपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरूले राखेका विषयदेखि सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए।
उनले सभामुखले आफूलाई राम्रो लाग्ने स्वर सुन्न चाहेको पनि आरोप लगाए।
‘सभामुखलाई प्रश्न छ– संक्षिप्त समय भनेको कति समय हो? मनलाग्दी बोल्न पाउने हो कि या सम्माननीय सभामुखको तजबिजमा तपाईंलाई आनन्द आएका कुराहरूमात्र बोल्न पाइने हो। सभामुखलाई सिधा प्रश्न गर्न पाइँदैन। सभामुखलाई रोष्ट्रममा बस्दा तपाईका कानमा राम्रा स्वर गुन्जिएनन् भने बीचैमा रोक्न पाइँदैन भन्ने कुरा हाम्रो संसदको नियमावलीको धारा २१ को (ङ) ले भन्छ,’ उनले भने।
उनले 'ङ' बुँदा पढेरै सुनाएका थिए। त्यसमा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनशायले दुरूपयोग गर्न नहुने उल्लेख रहेको बताएका थिए।
‘कांग्रेस सांसद राजन केसीले बोल्दै गर्दा नियमापत्ति हुनेगरी बोल्नुभएको हो भने तपाईंहरूले नियमापत्ति गरेर आफ्ना कुराहरू राख्न सक्नुहुन्थ्यो। प्रमुख प्रतिपक्षीसँग आज संख्या बढी छ। हामी त उसै सानो पार्टी, बीचको नेपाली कांग्रेसको किन कम भयो थाहा छैन। संख्याको बल छ भनेर बेसरी ढ्यापढ्याप गरेर हाम्रा स्वरहरूलाई कुण्ठित गर्ने यही हो लोकतन्त्र। प्रमुख प्रतिपक्षले हामीलाई सिकाउन खोजेको यही हो? अनि हामीले टुलुटुलु हेरिदिनुपर्ने?,’ उनले भने।
उनले राजन केसीलाई सभामुखले नै बोल्न समय दिएको बताए।
‘सभामुखले त्यहाँबाट रूलिङ गरेर संक्षिप्तमा बोल्नुस् भनेर हजुरले आदेश गर्नुभएको हो। प्रमुख प्रतिपक्ष नउठ्दै तपाईंले कुन नियमावलीमा टेकेर यो रूलिङ गर्नुभयो र हामीले कुन मनोबलका साथ सदनमा बहस गर्ने ? आजको घटनाक्रम निकै संवेदनशील छ। यसलाई गम्भीरतापूर्वक लिऔं,' उनले भने।
त्यसपछि सापकोटाले राप्रपाका सांसद शाहीले राखेका विषयको प्रतिवाद गरे। उनले संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा उत्रिएर प्रतिवाद गर्नसमेत चुनौती दिए।
'संसद बन्द गर्न, हुलउज्जत गर्न, अराजकता प्रदर्शन गर्न, मनलाग्दी गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो? तपाईंहरू शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ। यो शासन व्यवस्था गलत छ भने संसदको पद राजीनामा गरेर सडकमा गएर विद्रोह गर्नुस् त्यो अधिकार छ। संसदमा बस्ने, अराजक हुने उच्छृंखल हुने यो के तरिका हो?,’ उनले भने।
सापकोटाले बोलेपछि प्रभु शाह र कांग्रेस सांसद राजेन्द्र बजगाइँले आफ्नो धारणा राखेका थिए।
त्यसपछि प्रतपक्षी दलहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेको अनुरोधका बाबजुद सांसदहरू विरोध कायम राखेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।