प्रधानमन्त्री सुशील कोइरालाले रोजगारीका लागि मलेसिया जाने नेपालीहरुका लागि मलेसियाली सरकारले कुनै समस्या आउन नदिन सम्बन्धित देशको सरकारलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री कोइरालालाई उनको सरकारी निवास वालुवाटारमा बिहिबार भेट्न पुगेका मलेसियाका मानव संसाधन मन्त्री रिचार्ड रोइत अनक जिमसँग कुरा गर्दै मलेसियाको विकासमा योगदान पुर्याइरहेका नेपालीहरुलाई भिसा लगायतका कुनै समस्या आउने अवस्था सृजना हुन नदिन आग्रह गरेका हुन्।
मलेसियन मन्त्रीका अनुसार हाल मलेसियामा ४ लाख ३४ हजार नेपाली कामदार कार्यरत रहेका छन्।
प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जारी गरेको प्रेस विज्ञप्ति अुनसार, प्रधानमन्त्री कोइरालाले मलेसियाको सरकारी स्वामित्व समेत रहेको मलेसियन एअरलाइन्सका केही समय अगाडि भएको दुइ भिन्दा भिन्दै दुर्घटनामा जीवन गुमाएका मलेसियाली नागरिकका स्वजनहरुप्रति समवेदना व्यक्त गरे।
त्यसैगरी मलेसियन मन्त्रीले नेपालमा हालै गएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मलेसियन एअरलाइन्सका कर्मचारी र नेपालमा रहेका मलेसियाली नागरिकहरुले नेपालको बाढी र पहिरो पीडितहरुको उद्धार ,राहत,पुनस्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरीे ३ लाख रुपैयाको चेक कोइरालालाई हस्तान्तरण गरे।
भेटवार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले मलेसियाको विकास प्रयासले आफूलाई निकै प्रेरित गरेको बताउदै विकासको लागि शान्ति र स्थायित्व अपरिहार्य भएको र नेपाल अहिले त्यसकै प्राप्तिको मार्गमा रहेकेा जानकारी दिए। उनले संविधान सभाबाट निर्धारित समयभित्रै संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थिरता र शान्ति कायम हुनाको साथै विकास प्रकृयाले गति लिने विश्वास पनि दिलाएका थिए।