कैलालीको टीकापुर क्षेत्रमा सोमबार अपराह्न थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी र दुईवर्षीय एक बालकको मृत्यु भएको छ।
कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले प्रदर्शनकारीले टीकापुरमा लगाइएको निषेधाज्ञा तोड्दै सुरु गरेको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मृत्यु भएको जानकारी दिए।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम विष्ट, प्रहरी गुल्म धनगढीका प्रहरी निरीक्षक केशव बोहरा, प्रहरी हबल्दार लक्ष्मण खड्का र प्रहरी जवान लोकेन्द्र चन्दको पनि मृत्यु भएको छ। सशस्त्र प्रहरीतर्फ उग्रतारा गण टीकापुरका प्रहरी हबल्दार ललित साउद र प्रहरी जवान रामबिहारी थारुको मृत्यु भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। हबल्दार थारुको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले थप एक शव घटनास्थल नजिकको खेतमा फेला परेको भए पनि शवको सानाखत हुन नसकेको बताए। आक्रमणमा परी टीकापुर नजिकको मुनुवा गविस–६ का दुई वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ।
सेतोपाटीसँग कुरा गर्दै प्रजिअ श्रेष्ठले प्रदर्शनकारी प्रत्येक व्यक्तिले लाठी भाटा, हँसिया, भालालगायत घरेलु हतियार बोकेर प्रदर्शन गर्दै एक साथ प्रहरीमाथि जाइलागेपछि प्रहरी हताहत भएको बताए। थरुहट स्वायत्त प्रदेश लेखिएको सूचनापाटी टीकापुर क्षेत्रका सरकारी कार्यालयमा टाँग्ने योजनासहित आएका प्रदर्शनकारीले एकाएक निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि जाइलागेको थियो।
प्रहरीमाथिको आक्रमणपछि भएको झडपका क्रममा नेपाल प्रहरीतर्फ १७ र सशस्त्र प्रहरी तर्फ २१ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको टीकापुर अस्पतालले जनाएको छ। घाइतेलाई स्थानीय टीकापुर अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनीहरूलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट राजधानी ल्याइएको छ।
स्थानीय प्रत्यक्षदर्शी सुमन धितालले प्रदर्शनकारीले छापामार शैलीमा एकसाथ आक्रमण गरेका बताए। घटनामा प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जनाइए पनि अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन।
यसअघि सहायक प्रजिअ उदयबहादुर सिंहले टीकापुरमा भएको घटनामा नेपाल प्रहरीतर्फ पाँच, सशस्त्र प्रहरीतर्फ ११ र प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जानकारी दिनुएकोमा केही समयपछि जिल्ला प्रशासन कार्यालयले घटनामा भएको मानवीय क्षतिबारेको तथ्याङ्क सच्याएको हो।